बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेशलाई प्रविधिसँग जोड्दै प्रदेशलाई डिजिटल बनाउने अभियानमा सरकार रहेको बताएका छन् ।
हेटौँडामा आयोजित डिजिटल बागमतीसम्बन्धी आन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले सरकारले ल्याएको नीति तथा कार्यक्रमले डिजिटल बागमती बनाउने अभियानलाई समेटेको बताए । नीति तथा कार्यक्रमसँगै बजेटमा पनि डिजिटल बागमतीको विषयलाई समेट्ने उनले बताए ।
उनले प्रविधिको विकासबाट समाजमा सकारात्मक परिवर्तन आउनेमा सरकार स्पष्ट रहेको बताए । कार्यक्रममा सरकारले ल्याएको नीति तथा कार्यक्रममा प्रविधिसँग जोडिएको सबै विषय मुख्यमन्त्री पाण्डेले जानकारी गराएका थिए ।
प्रविधिसँग जोडिने चाहना र भावना नभएसम्म समाज अघि बढ्न सक्दैनः मेयर लामा
हेटौंडा उपमहानगरकी मेयर मीनाकुमारी लामाले डिजिटल हुने चाहना नभएसम्मपरिवर्तन असम्भव भएको बताइन् । ‘डिजिटल बाग्मती’सम्बन्धी कार्यक्रममा प्रविधिसँग जोडिने चाहना र भावना नभएसम्म समाज अघि बढ्न नसक्ने उनले बताइन् ।
समाजले प्राविधिक परिवर्तनलाई आत्मसात् गर्दै सिक्ने चाहना नराखेसम्म विकासमा समस्या आउने उनले बताइन् । नगरलाई प्रविधिमैत्री बनाउनका लागि अहिले पनि विद्युत्को समस्या रहेको बताइन् । उपमहानगरका सबै वडालाई प्रविधिमैत्री बनाउने प्रयत्न भए पनि विद्युत्को समस्या रहेको उनको भनाइ थियो । सो समस्या टरेसँगै प्रविधिको पाटोमा अघि बढ्ने मेयर लामाले प्रतिबद्धता जनाइन् ।
नगरलाई समृद्ध र सबल बनाउने काममा कुनै कसर बाँकी नराख्ने भन्दै मेयर लामाले उपमहानगरमा सुशासन र पारदर्शिताको साथ काम गर्ने बताइन् । नागरिकलाई सचेत पार्दै जनताको आधारभूत आवश्यकता पूर्तिका लागि सचेत रहेको बताइन् ।
लिभिङ विथ आइसिटीका अध्यक्ष राजन लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण शर्मा खनाल, प्रदेश योजना आयोगका सदस्य प्रल्हाद लामिछानेलगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रममा प्रविधिको प्रयोग र बागमतीको अवस्थाबारे छलफल गरिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।