\
पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले) का सांसद सुरेन्द्र पाण्डेले कर्मचारीको तलब १५ प्रतिशतका दरले समान रूपमा बढ्नु न्यायोचित नभएको बताएका छन् । बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पाण्डेले महँगीको हिसाबमा कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि हुने ठिकै भएपनि सबै वर्गका कर्मचारीहरूको समान रूपमा तलब वृद्धि हुनु न्यायोचित नभएको बताएका हुन् ।
उनले यसरी समान रूपमा तलब वृद्धि गर्नु समाजवादउन्मुख हुनु हो भन्ने प्रश्नसमेत गरे । ‘तलब बढायौँ १५ प्रतिशत । ठिकै होला कर्मचारीको महँगीको हिसाबले । तर, विगतमा भन्दा हामीले के कुरा ख्याल गरेनौँ भने फ्ल्याट रेटमा १५ प्रतिशत बढाउँदा तल्लो वर्गका कर्मचारीहरु र माथिल्लोले एउटै दरमा प्राप्त गर्दा यो न्यायोचित भयो त? यो समाजवादउन्मुख भयो? विगतमा यस ढंगले हामीले गर्ने गर्दथ्यौँ? कहीँ पनि म त्यो देख्दिनँ । यो न्यायोचित वितरण त भएन होला । बजेटका उद्देश्य माथि नै यत्रो धेरै व्याख्या गर्दाखेरीमा पनि यो चिजप्रति कतै पनि मेरो त्यहाँ सहमति हुन सकेन । मेरो मनले मानेन,’ पाण्डेले भने ।
उनले वृद्धभत्ता ६८ वर्षमै दिए पनि एमालेले स्याबासी पाउने बताए । उनले वृद्धभत्ता एमालेको ब्राण्ड भएकाले जसले जति वर्षमा झारेर दिएपनि केही फरक नपर्ने बताए ।
‘वृद्धभत्तालाई ६८ वर्ष झार्याैँ नि । वृद्धभत्ता जतिसुकै कुरा गरेपनि यो एमालेको ब्राण्ड जस्तो हुन्छ । तपाई ६८ मा झार्नुस्, ५८ मा झार्नुस् केही फरक पर्दैन । वृद्धभत्ता जे गर्नुस् त्यो एमालेकै दाबी हुन्छ । एमालेलाई नै मान्छेले स्याबास गर्छन्, ताली ठोक्छन् । तर तपाईले आफैँले पनि ५ हजार पुर्याउँछु भनेर हिजो घोषणापत्रमा बोलेको होइन र? पाँच पुर्याएको भए त अझ राम्रो हुन्थ्यो नि । किन गर्नुभएन? त्यसमा बरु गुनासो छ,’ पाण्डेले भने ।
उनले नेपाली कांग्रेसले एकलौटी शासनको सपना देखिरहेको टिप्पणी पनि गरे । गठबन्धनलाई सँगै जान गाह्रो भइराखेको उल्लेख गर्दै उनले चुनाव भएदेखि गठबन्धनका दलहरू सबै छुट्टिने थिए भन्ने कांग्रेसले चाहेको पनि उनले जिकिर गरे ।
‘गठबन्धन सँगसँगै जानलाई गाह्रो भएको छ । कांग्रेसलाई छिटोभन्दा छिटो झुन्डिएका सबै गलगाँड यहाँबाट कहिले यसको पिण्ड चुँडाउने भन्ने छ । चुनाव भएदेखि यसको गलगाँड छुट्थ्यो कि भन्ने छ । सतीदेवीको अंग पतन भएको जस्तो । चुनावपछि यी सबै कसले हात समातेको छ । कसले खुट्टा समातेको छ । ति सबै त्यहाँबाट छुट्टिएर जाने छन् । कांग्रेस एकलौटी शासनको बडो सपनामा बसिरहेको छ । त्यसकै लागि प्रयास गरिरहेको मैले देख्छु,’ पाण्डेले भने ।
उनले ६० लाख परिवारलाई इन्डक्सन चुल्हो दिने कुरामा अनुचित लाभ लिने स्वार्थ लुकेको पनि बताए । उनले चुनावी फण्ड उठाउनका लागि इन्डक्सन चुल्हो वितरणको खेलोमेलो गरिएको हो कि भन्ने आशंका व्यक्त गरे ।
‘६० लाख परिवारलाई तपाईले इन्डक्सन चुल्हो बाँड्ने कुरा गर्नुभएको छ । मैले इन्टरनेटमा गएर हेर्दा ३४ सय देखि १२ हजारको इन्डक्सन चुल्होको दाम हेर्दाखेरि न्यूनतम बेसमा राखेर ५ हजारमा किन्नुभयो भने पनि ३० अर्ब रुपैयाँ पर्ने रहेछ । यो कतै चुनावमा फन्ड उठाउने खेलोमेलो त होइन यो? तपाईंसँग पूर्वाधार छैन अनि इन्डक्सन चुल्हो बाँड्ने कुरा गर्नुहुन्छ । पहिला एकचोटी यो सिएफएल वल्वको पनि यस्तै चर्चा भएको थियो पछि रोकियो । यसैमा खरिद गर्ने र अनुचित लाभ लिने खालको कतै कुरा त होइन?’
उनले शिक्षा र स्वास्थ्यको क्षेत्रमा बजेट कटौती भएकोप्रति पनि असन्तुष्टि जनाए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।