सत्तारुढ गठबन्धनले संघ तथा प्रदेशको निर्वाचन आगामी कात्तिकमा गर्नेबारे छलफल सुरु गरेको छ ।
सोमबार सत्ता गठबन्धन र मंगलबार भएको सत्ता गठबन्धन संयन्त्रको बैठकमा कात्तिक अन्तिम साता निर्वाचन गर्नेगरी छलफल भएको हो ।
छलफलमा कात्तिक अन्तिममा संघीय र प्रादेशिक चुनाव एकसाथ गर्ने कि प्रदेशको मात्र गर्ने भन्ने विषयमा छलफल भएको थियो । यद्यपि, छलफलमा ठोस सहमति भने जुटिसकेको छैन ।
एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बैठकमा कात्तिक अन्तिमतिर निर्वाचन गर्दा उपयुक्त हुने कुरा उठेको बताए । बैठकमा अन्य नेताहरूले पनि कात्तिकमा गर्दा उपयुक्त हुने बताएको तर औपचारिक सहमति नभएको उनको भनाइ छ ।
०७४ सालमा निर्वाचन १० र २१ मंसिरमा दुई चरणमा भएको थियो ।
सोमबार प्रधानमन्त्रीको अध्यक्षतामा गठबन्धन दलका शीर्ष नेताको बैठक बसेको थियो भने मंगलबार गठबन्धन संयन्त्रको बैठक बसेको थियो । दुवै बैठकमा गठबन्धनलाई निरन्तरता दिने समझदारी भएको छ ।
सोमबारको बैठकमा स्थानीय तहका बाँकी रहेका स्थानमा कार्यपालिका सदस्य चुनावमा गठबन्धन गर्ने र ७७ वटै जिल्ला समन्वय समितिमा पनि गठबन्धन गर्ने निर्णय भएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।