भारतबाट पेट्रोलको मूल्य ८ रुपैयाँ बढेर आयो

भारतीय आयल कर्पोरेसन (आइओसी)ले इन्धनको नयाँ मूल्यसूची पठाएको छ । भारतले पेट्रोलको मूल्य बढाएर १ जुन (आज) नयाँ मूल्यसूची पठाएको नेपाल आयल निगमले जानकारी दिएको छ । 

पछिल्लो मूल्यसूचीमा पेट्रोल र मट्टितेलको मूल्य बढेर आएसँगै थप भार पर्ने निगमको भनाइ छ । भारतले पठाएको सूचीअनुसार एक लिटर पेट्रोल ८ रुपैयाँ २१ पैसा बढेर आएको छ । मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ ९८ पैसा बढेर आएको छ ।

नयाँ मूल्य सूचीअनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर २२ रुपैयाँ ९३ पैसा घाटा हुनेछ । नेपाली बजारमा एक लिटर पेट्रोलको मूल्य १८० रुपैयाँ प्रतिलिटर छ । भारतले पठाएको नयाँ सूचीअनुसार एक लिटर पेट्रोलको लागत मूल्य २०२ रुपैयाँ ९३ पैसा हुन आउने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ। 

खाना पकाउने एलपी ग्यास, डिजेल र हवाई इन्धनको मूल्य भने घटेको निगमले जनाएको छ । डिजेलको मूल्‍य भने प्रतिलिटर ७ रुपैयाँ ४ पैसा घटेको छ । त्यस्तै, ग्यासमा प्रतिसिलिन्डर १२२ रुपैयाँ र हवाई इन्धन प्रतिलिटर ३ रुपैयाँ ३६ पैसा घटेर आएको निगमले जनाएको छ ।

हालको मूल्यअनुसार निगमलाई समग्रमा १५ दिनमा ३ अर्ब ७ करोड ६७ लाख रुपैयाँ घाटा हुने निगमले जनाएको छ । चालु आवको पहिलो १० महिनामा निगमलाई ४७ अर्ब नोक्सानी भएको उल्लेख गरिएको छ । निगमले हाल आईओसीलाई पुरानाे करिब १६ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको पनि जनाएको छ ।

सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउने तयारी गरेको थियो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर हटाएर मूल्य घटाउने तयारी गरिरहेका बेला भारतबाट मूल्य बढेर आएको हो । 





  • प्रकाशित मिति : जेठ १८, २०७९ बुधबार २०:५६:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया