कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिकाको अधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि प्रकाश बर्तौलाले नेकपा एमालेलाई मनहरीमा ‘पत्तासाप’ पार्ने बताएका थिए ।
३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा प्रकाशले आफ्नो अभिव्यक्तिलाई प्रमाणित नै गरिदिए । उनले अघिल्लो स्थानीय निर्वाचनमा गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहित पाँचवटा वडा (वडा नम्बर – ९ मा एमालेकै स्वतन्त्र) जितेको एमालेलाई यस पटक भने गाउँपालिकामा जम्मा चार जना वडा सदस्यमा सीमित पारिदिए ।
गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) सँग तालमेल गरेको कांग्रेस वडा भने एकल प्रतिस्पर्धामा उत्रिएको थियो । कांग्रेसले गाउँपालिका अध्यक्षसहित १, ३, ६, ७ र ८ मा प्यानलसहित र ९ नम्बर वडामा भने अध्यक्षमा जित्यो ।
बाँकी वडामा माओवादीले जित हात पारेको छ । अघिल्लो निर्वाचनमा दबदबा कायम गरेको एमाले भने चार जना वडा सदस्यमा मात्र यस पटक सीमित हुन पुगेको हो ।
केही वर्ष वैदेशिक रोजगारीका लागि क्यानडा पुगेर बर्तौला राजनीतिमा आएका हुन् । ‘राजनीतिमार्फत आफ्नै गाउँ ठाउँको विकास गरौं भन्ने उद्देश्यले अघि बढेको छु’, उनी भन्छन्, ‘मैले मात्रै चाहेरभन्दा पनि आम नेता कार्यकर्ताको मिहिनेतबाट एमाले हराउन सफल भएँ ।’
गाउँपालिकामा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई जनभावनाअनुसार काम गर्न उनको सुझाव छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।