नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीले अमेरिकी सहयोग परियोजना एमसिसी पास गरेकोमा सरकारलाई धन्यवाद दिएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफलमा भाग लिँदै उनले गिजोलेर भए पनि एमसिसी पारित गरेकोमा सरकारलाई धन्यवाद दिएका हुन् ।
ज्ञवालीले बुढीगण्डकी परियोजनालाई पनि सरकारले गिजोलेको आरोप लगाए । उनले ठूला योजनाहरूलाई राजनीतिक ध्येय साँध्नका लागि नगिजोल्न पनि सरकारलाई आग्रह गरे ।
‘विदेशी लगानी बढाउँछु भन्दै हुनुहुन्छ तर तपाईँहरूका क्रियाकलापले विदेशी लगानीकर्तालाई लगातार हतोत्साहित गरिरहेको छ । हिजो गिजोल्नसम्म गिजोलियो एमसिसी, पछि के देख्नुभयो तपाईंहरूले, सत्ता जान्छ भन्ने ठान्नुभयो के ठान्नुभयो, कुरा त जहाँको त्यहीँ छ तर एमसिसी पास गर्नुभयो, धन्यवाद भन्छु मैले,’ एमालेका उपमहासचिवसमेत रहेका ज्ञवालीले भने, ‘बुढीगण्डकी गिजोल्दै हुनुहुन्छ । यो गिजोल्ने कुरामा किन आनन्द आउँछ? हामीले त सरकार परिवर्तन होस् तर नीति स्थिर रहनुपर्ने होइन र? राजनीतिक स्थायित्वको महत्वपूर्ण आधार भनेको नीतिको स्थिरता र निरन्तरता हो । नयाँ सरकार आउँदा यी कुराहरूमा परिवर्तन हुँदैन भन्ने अनुमान गर्न सकिने हुनुपर्छ ।
उनले बुढीगण्डकी आयोजनालाई कहिले चीनलाई दिने कहिले आफैं बनाउने भन्ने कुराले सरकारमा अस्थिरता देखिएको बताए । ‘हिजो के देखेर चीनलाई दिने भन्यौं? आज के देखेनौं, के पाएनौं फेरि नदिने भन्यौं । यस्तो खालको अस्थिरता?,’ उनले भने, ‘हिजो आफू सरकारमा रहँदा एमसीसीमा हस्ताक्षर गर्यौं । त्यसपछि तीन वर्ष त्यसविरुद्ध आगो बाल्यौँ । यसले नीतिको स्थिरता भएन । यसले लगानीकर्ता बाह्य जगतलाई विश्वासको सन्देश दिँदैन । विश्वास भएन भने लगानी हुँदैन ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।