विस्थापित अस्थायी शिक्षकले मधेस प्रदेशसभा भवन घेरेर गरे नाराबाजी

मधेस प्रदेशअन्तर्गत विस्थापित अस्थायी शिक्षकले प्रदेशसभा भवन घेराउ गरी नाराबाजी गरेका छन् । प्रदेश सरकार स्वयंले गरेको निर्णय पालना नगरेको भन्दै शिक्षकले प्रदेशसभा भवन घेराउ गरी नाराबाजी गरेका हुन् । 

विस्थापित अस्थायी शिक्षकले लामो समयदेखि तलब भत्ता नपाउँदा घरपरिवार चलाउन गाह्रो भएकोले प्रदेश सरकारलाई गम्भीर हुन दबाब दिँदै प्रदेशसभा घेराउ गरी नाराबाजी गरिएको विस्थापित अस्थायी शिक्षक संघर्ष समितिका संयोजक धर्मेन्द्र यादवले बताए । 

उनले भने, ‘विगतमा आन्दोलन गर्दा प्रदेश समन्वय परिषद्ले पीडित अस्थायी शिक्षकको संख्या निर्धारण गरी तथ्यांकगत विवरण मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको थियो । समन्वय परिषद् एवं मुख्यमन्त्री कार्यालयबीच पत्राचार भएपछि कार्यरत शिक्षकलाई काजमा फिर्ता पठाइयो । तर, काजफिर्ता गरिए पनि विगत करिव एक वर्षदेखि हामी तलब भत्ताबाट वञ्चित छौँ ।’

शिक्षक/शिक्षिकाले आफूहरूको तलब भत्ता सुनिश्चित गर, मधेस सरकारले गरेको निर्णय पालन गर, कानुनी राज्यको अनुभूति होस्, शिक्षकको कानुनी हक अधिकारको हनन नगरियोस् लगायतका माग गरेका छन् । 

उनीहरुले बिहीबार दिउँसो १ देखि ३ बजेसम्म प्रदेश सभा घेराउ गरी नाराबाजी गरेका हुन् । मधेश प्रदेश अन्तर्गत ४६८ जना विस्थापित अस्थायी शिक्षक/शिक्षिका छन् ।





  • प्रकाशित मिति : जेठ १९, २०७९ बिहीबार १५:५८:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया