शंकर पोखरेलले भने : स्वतन्त्र व्यक्ति विजेता बनेका छन्, तर देशलाई नेतृत्व गर्ने सही बाटो होइन
फाइल तस्वीर

नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले देश बनाउनका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता रहेको बताएका छन् ।

बिहीबार नेपाल राष्ट्र बैंक कर्मचारी संघको आठौँ केन्द्रीय परिषद् बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरेलले देश बनाउनका लागि बलियो राष्ट्रिय शक्तिको आवश्यकता पर्ने बताएका हुन् । 

उनले दलहरूको गठबन्धनले देश बनाउन नसकिने बताए । उनले जति धेरै राजनीतिक दलहरू हुन्छन् उति नै अस्थिरता, राजनीतिक विचलन र वैदेशिक हस्तक्षेप हुने बताए । देशलाई बनाउने हो भने नेपालमा थोरै बलिया राष्ट्रिय शक्तिहरूको निर्माण गर्नुपर्ने उनको भनाइ छ । महासचिव पोखरेलले स्वतन्त्र व्यक्तिले देश बनाउन नसक्ने भन्दै उनीहरू राजनीतिमा सफल हुन चाहे संस्थागत प्रक्रियामा जोडिनुपर्ने बताए । 

‘राजनीतिक दलहरूले मुलुकलाई सही प्रकारको विकल्प दिन नसक्दाखेरी मतदाताले विद्रोह गरे र स्वतन्त्र व्यक्ति विजेता बनेका छन् तर मुलुकलाई नेतृत्व गर्ने सही बाटो होइन । र, उनीहरू साच्चै राजनीतिमा सफल हुन चाहान्छन् भने संस्थागत प्रक्रियामा जोडिनु जरुरी छ,' उनले भने, 'स्वतन्त्र व्यक्तिका लागि कुन पार्टी मन पर्छ उनीहरूको छनोटको अधिकारको कुरा हो । तर, एक्लै समाजलाई बदल्छु भन्ने खालको कुरा यो न हिजो सम्भव भएको थियो । न भोलि सम्भव हुन्छ ।’

महासचिव पोखरेलले भन्सार नीतिमा गरिएको हेरफेरका कारण विदेशी मुद्राको सञ्चितीमा गिरावट आएको बताए । व्यापारीले आयातमुखी नीति फेरि नआउने ठानेर अस्वभाविक रूपमा आयात गरेका कारण विदेशी मुद्राको सञ्चितिमा ह्रास आएको उनले बताए । 

उनले राज्यले हुन्डी कारोबारीलाई प्रोत्साहित गर्ने नीति अवलम्बन गरेको बताए । रेमिट्यान्स बैंकिङ प्रणालीबाट आउन छाडेको उल्लेख गर्दै उनले बैंकिङ नीतिलाई प्रभावकारी बनाउन सकेको भए त्यसो नहुने धारणा राखे । सरकारले स्रोत नखुलेको लगानी भित्राउने नीति अगाडि बढाएसँगै बजारबाट पैसा हराएको उनले बताए ।





  • प्रकाशित मिति : जेठ १९, २०७९ बिहीबार १८:३४:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया