जयनगर–जनकपुरधाम रेलको एक बोगीमा केमिकल पोखिएर आगलागी
फाइल तस्वीर

जनकपुरधाम, १९ जेठ । नेपालको एकमात्र जयनगर–जनकपुरधाम रेलको एउटा बोगीमा केमिकल पोखिएर आगलागी भएको छ । 

जयनगर स्टेसनबाट कुर्था आउने क्रममा १९०१ नम्बर रेलको एउटा बोगीमा बिहीबार दिउँसो आगलागी भएको नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक नीरञ्जन झाले जानकारी दिएका हुन् । बोगीमा लागेको आगो तत्कालै नियन्त्रणमा लिइएको महाप्रबन्धक झाले बताए । 

प्रतिबन्धित केमिकल बोकेर जयनगरस्थित १ नम्बर गेटबाट रेलमा प्रवेश गरेकी दुई महिलालाई भारतीय प्रहरीले जयनगरमै पक्राउ गरेर नेपाल प्रहरीको जिम्मा लगाएको उनले जानकारी दिए । 

उनले भने, ‘केमिकल बोकेर रेलमा प्रवेश गरेका महिलाले यात्रु बस्ने बोगीमा केमिकल राख्दा पोखिएर त्यही बोगीमा यात्रा गरेरहेकी अर्की एक महिलाको शरीरमा पोखिँदा उनलाई आगोको जलन जस्तो महसुस भएपछि बोगीभित्र हल्ला मचिएको थियो । केमिकलकै छेउमा एउटा सानो ग्यास सिलिन्डर पनि रहेकोले केमिकल पोखिँदा आगोको मुस्लो जस्तै निस्केपछि सबै डराएका थिए ।’ 

महाप्रबन्धक झाले पक्राउ परेका उनीहरूमाथि अनुसन्धान अघि बढाइने बताए ।  उनले अहिले रेल जनकपुरधाम आइसकेको समेत जानकारी दिए ।  
रेलमा भएको आगलागीबाट सामान्य क्षति भएको महाप्रबन्धक झाले जानकारी दिए ।





  • प्रकाशित मिति : जेठ १९, २०७९ बिहीबार १९:४८:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया