नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले सरकार परिवर्तनको खेलमा नेकपा एमाले नभएको बताएका छन् ।
पछिल्ला केही दिन यता नेकपा एमालेका नेताहरुले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई प्रधानमन्त्री बन्न अफर गरेको समाचार बाहिर आइरहेका छन् ।
यही सन्दर्भमा पोखरेलको यस्तो अभिव्यक्ति आएको हो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले त आफूलाई प्रधानमन्त्रीको अफर आए पनि आफू त्यो रेसमा नभएको बताएका छन् ।
उता, कांग्रेसका नेताहरुले गठबन्धनमा अहिले खटपट भएको संकेत गर्ने अभिव्यक्ति दिन थालेका छन् । कतिसम्म भने कांग्रेस नेता रामचन्द्र पौडेलले त माओवादी केन्द्रका कारण अहिले सरकार फेरिन सक्ने संकेत गर्दै कांग्रेस देश र जनताका लागि हार्न तयार रहेको अभिव्यक्तिसमेत दिएका छन् ।
यहीबीच नेकपा एमालेका नेताहरुले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटघाट गरिरहेका छन् । त्यसैले धेरैको अनुमान छ, एमाले र माओवादी मिलेर छिट्टै नयाँ सरकार बनाउन सक्छन् ।
यही कुरालाई संकेत गर्दै नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सन्जाल फेसबुकमा लेखेका छन्, ‘यतिबेला नेकपा एमाले सरकार परिवर्तनको खेलमा छैन । विकास र समृद्धिका लागि बलियो राष्ट्रिय शक्ति निर्माणमा जुट्दैछ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।