मृतकको नाम नभएको श्रद्धाञ्जली प्रसारण गर्न नमान्दा सञ्चारकर्मी धामीमाथि कुटपिट

बझाङमा सञ्चारकर्मी कर्ण धामीमाथि कुटपिट भएको छ । जिल्ला सदरमुकाम चैनपुरस्थित जयपृथ्वी एफएममा कार्यरत धामीमाथि गएराति रेडियोको स्टुडियोमै प्रवेश गरी सुर्मा गाउँपालिका–४ का खडक बोहराले कुटपिटका साथै ज्यान मार्ने धम्की दिएका हुन् । 

बोहराले सञ्चारकर्मी धामीमाथि स्टुडियोमै प्रवेश गरी अपशब्द प्रयोग गर्दै कुटपिट गरेका रेडियोका अध्यक्ष प्रताप ओलीले जानकारी दिए । मदिरा खाएर स्टुडियोमा पसेका बोहराले रेडियोमा प्रशारण हुने श्रद्धाञ्जलीको विषयमा कुरा गर्ने क्रममा आफूमाथि कुटपिट भएको पीडित धामीले बताए ।

‘स्टुडियोमा काम गरिरहेको थिए, अरू सहकर्मी पनि आ–आफ्नो कक्षमा काम गरिरहेका थिए । अचानक सुर्मा गाउँपालिका–४ घर बताउने खडक बोहरा स्टुडियोमै पसे । उनले मदिरा पिएका थिए । खासमा बोहरा आफन्तको श्रद्धाञ्जली प्रशारणका लागि रेडियोभित्र छिरेका रैछन्,’ धामीले भने, ‘तर, उनले मृतकको नाम नै ल्याएका थिएनन्, मृतकको नाम ल्याएर आउनुहोस्, अनि प्रशारण गरौंला भनेर पठाउन खोजेको थिए । यति के भनेको थिए बोहराले गालीगलौज गर्दै कुटपिट गर्न थाले । उनले अपशब्द प्रयोग गर्दै चैनपुरमा बस्न नदिने धम्कीसमेत दिएका छन् ।’  

बोहराको कुटपिटबाट धामीको हातमा चोट लागेको छ । रेडियोका अध्यक्ष ओलीले सञ्चारकर्मी धामीमाथि कुटपिट गर्ने बोहरालाई कारबाहीको माग गरेका छन् । ‘रेडियोका कर्मचारी धामीलाई कुटपिट, गाली बेइज्जती तथा अपशब्द प्रयोग गरी ज्यान मार्ने धम्की दिएको घटनाप्रति रेडियो परिवार घोर आपत्ति जनाउँछ । सही सूचना सम्प्रेषणका विषयमा रेडियो गम्भीर भएको ध्यानाकर्षण गराउँदै घटनाका दोषीलाई यथाशीघ्र कानुनी दायरमा ल्याई कानुनबमोजिम कारबाहीमा माग गर्दछौं,’ विज्ञप्ति जारी गर्दै ओलीले भनेका छन् ।  

प्रेस चौतारी बझाङ शाखाले पनि सञ्चारकर्मी धामीमाथि दुर्व्यवहार गर्नेलाई तत्काल कानुनी दायरमा ल्याउन सम्बन्धित निकायलाई आग्रह गरेको छ । ‘रेडियोका कर्मचारी धामीलाई कुटपिट, गालीगलौज तथा अपशब्द प्रयोग गरी ज्यानमार्ने धम्की दिएको घटनाप्रति प्रेस चौतारी नेपाल जिल्ला शाखा बझाङ घोर आपत्ति जनाउँछ,’ चौतारीका अध्यक्ष मकरबहादुर धामीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सूचना सम्प्रेषणमा सदैव चनाखो रहने सञ्चारमाध्यममा भएको घटनाप्रति ध्यानाकर्षण गराउँदै घटनाका दोषीलाई यथाशीघ्र कानुनी दायरमा ल्याइ कानुनबमोजिम कारबाहीको माग गर्दछु ।’ 





  • प्रकाशित मिति : जेठ २०, २०७९ शुक्रबार ८:४९:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया