एक वर्ष पुग्‍न लाग्दा पनि प्रधानमन्त्री र मन्त्रीहरूले सार्वजनिक गरेनन् सम्पत्ति विवरण

प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीहरूकाे सम्पत्ति विवरण अझै सार्वजनिक भएको छैन । गत २९ असारमा प्रधानमन्त्री बनेका देउवा र २५ सदस्यीय मन्त्रिमण्डलका सदस्यको सम्पत्ति विवरण अझै गोप्य राखिएकाे छ ।

सम्पत्ति विवरण सार्वजनिक गर्नैपर्ने कानुन नभए पनि यसअघिका प्रधानमन्त्री र मन्त्रीहरूले नियुक्त भएकाे ६० दिनभित्र सम्पत्ति विवरण सार्वजनिक गर्दै आएका थिए । सार्वजनिक पदधारण गरेका र कर्मचारीले सरकारलाई सम्पत्ति विवरण बुझाउनुपर्छ ।

उक्त विवरण गाेप्य रहने भए पनि आर्थिक पारदर्शिताका लागि भन्दै प्रधानमन्त्री र मन्त्रीहरू सम्पत्ति विवरण सार्वजनिक गर्ने गरिन्छ  । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको वेवसाइटमा प्रधानमन्त्री र मन्त्रीहरूकाे सम्पत्ति विवरण प्राप्त भएको उल्लेख छ । तर,  सार्वजनिक गरिएको छैन ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको नेकपा माओवादी केन्द्र, उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी नेपाललगायत राजनीतिक दलको सहभागिता छ ।

यसअघिका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वका केही मन्त्रीहरू (प्रधानमन्त्रीसहित) ले मात्र सम्पत्ति विवरण सार्वजनिक गरेका थिए । ०७४ मा गठन भएकाे सरकारका मन्त्रीको सम्पत्ति विवरण २ महिनामै सार्वजनिक गरिएको थियो । तर, त्यसपछि नियुक्त भएका मन्त्रीहरूले भने सम्पत्ति विवरण सार्वजनिक गरेका थिएनन् ।

यद्यपि, ओली मन्त्रिपरिषद्‍मा दाेस्राेपटक मन्त्री बनेका शेरबहादुर तामाङले भने दुबै पटक सम्पत्ति विवरण सार्वजनिक गरेका थिए । मन्त्री बन्दा र सरकारबाट बाहिरिँदा गरी दुई पटक सम्पत्ति विवरण सार्वजनिक गर्ने मन्त्री प्रदीपकुमार ज्ञवाली बनेका थिए ।





  • प्रकाशित मिति : जेठ २०, २०७९ शुक्रबार १०:०:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया