प्रचण्डलाई प्रकाशशरण महतको जवाफ : कांग्रेस अहंकारको बाटोमा छैन, आशंका गर्नुपर्दैन

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेस अहंकारको बाटोमा नरहेको बताएका छन् । सत्ता सहयात्री दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई थर्काएको भनेर बुझ्न नहुने पनि उनले बताएका छन् । 

शुक्रबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै महतले सो कुरा बताएका हुन् । केही दिनअघि प्रचण्डले एक सार्वजनिक कार्यक्रममा कांग्रेसले पनि दम्भ र अहंकार बोके एमालेलाई जसरी ठेगान लगाइदिने चेतावनी दिएका थिए । प्रचण्डको सोही कुरालाई थर्काएको भनेर बुझ्न नमिल्ने उनले बताए ।

‘उहाँ (प्रचण्ड) ले आफ्ना कार्यकर्तालाई सम्बोधन गर्ने क्रममा त्यो भन्नुभयो होला । त्यसलाई ज्यादा महत्व दिनुपर्छ भन्ने म ठान्दिनँ’, उनले भने, ‘नेपाली कांग्रेस कहिल्यै पनि अहंकारको बाटोमा छैन । यस विषयमा उहाँले आशंका गर्नुपर्ने आशंका पनि छैन ।’

कांग्रेसले वास्तविकताको धरातलमा उभिएर राजनीति गर्ने उनले बताए । कांग्रेसको नेतृत्व एमालेको नेतृत्व जस्तो अहंकारको बाटोमा हिँड्छ कि भनेर आशंका गर्न जरुरी नभएको भन्दै उनले कांग्रेस सभापति आफू नै सर्वेसर्वा भनेर नहिँडेको बताए । जिससको निर्वाचनमा पनि गठबन्धनका दलहरूबीच सहकार्य गर्ने सहमति भएको भन्दै उनले त्यसमा सबै दल प्रतिबद्ध हुनुपर्ने बताए । 

केही ठाउँमा अपवादबाहेक स्थानीय तहको निर्वाचनको परिणाम सकारात्मक आएको उनले बताए । पाँच दलीय गठबन्धनको सफल परीक्षण भएको भन्दै उनले आउँदो प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पनि गठबन्धनका दलबीच सहकार्य हुने उनले विश्वास व्यक्त गरे । 
 





  • प्रकाशित मिति : जेठ २०, २०७९ शुक्रबार ११:२१:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया