कांग्रेसमा एक्लिए देउवा

स्थानीय तह निर्वाचनमा सबैभन्दा बढी सफलता प्राप्त गरेको सत्तारुढ दल नेपाली कांग्रेसमा शीर्ष नेताहरूबीचको मनमुटाव थप बढ्दै गएको छ । पछिल्लो समय सत्तारुढ गठबन्धनमा पनि खटपट देखिरहँदा कांग्रेसका शीर्ष नेताहरूबीचको खटपट थप बढ्दै गएको हो । 

स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीबाट निर्वाचित भएका जन प्रतिनिधिहरूको एक सभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई पनि माओवादीले देखाइदिन सक्ने अभिव्यक्ति दिएका थिए ।

प्रचण्डको यस्तो अभिव्यक्ति आउनुमा कांग्रेसका नेताहरूको अभिव्यक्ति जिम्मेवार भएको माओवादी केन्द्रका एक नेताले अनुमान गरेका छन् । स्थानीय तह निर्वाचनअगाडि कांग्रेसमा विशेषगरी शेखर कोइराला पक्षधर नेताहरूले गठबन्धनको विपक्षमा आफ्ना अभिव्यक्ति दिएका थिए । स्थानीय तहको निर्वाचनको परिणामपछि माओवादीले निकालेको जितमा पनि गठबन्धन गरेर कांग्रेसले सहयोग गर्नु प्रमुख कारण भएको कांग्रेसका नेताहरूले अभिव्यक्ति दिन थालेका छन् । 

भरतपुरमा कांग्रेस नेता जगन्नाथ पौडेल बागी उम्मेदवार उठ्नु र उनलाई कांग्रेसका नेताहरूले फिर्ता नबोलाउनुमा पनि कांग्रेसको कमजोरीका रूपमा लिएका छन्, प्रचण्डले । ‘उहाँले त्यस्तो अभिव्यक्ति दिनु कांग्रेसका नेताहरूबाट बारम्बार माओवादीलाई होच्याएर आएका अभिव्यक्तिहरू हुन्,’ माओवादी केन्द्रका ती नेताले फरकधारसँग भने, ‘भरतपुरमा बागी फिर्ता गर्न नसक्नु, कांग्रेसका नेताहरूले मनलाग्दी अभिव्यक्ति दिनुमा उहाँ रिसाउनु भएको हुनसक्छ ।’

तर, यसमा उनले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको दोष देखेका छैनन् । अर्कोतिर, कांग्रेसभित्र भने देउवाका कदमलाई लिएर पछिल्लो समय आलोचना गर्ने नेताहरूको संख्या बढ्दो छ । विशेषगरी स्थानीय तह निर्वाचनमा उम्मेदवार बनाउँदाको विषयमा भएको खटपट पछिल्लो समय आगामी आर्थिक वर्षका लागि आएको बजेट, मन्त्रिपरिषद् हेरफेरको विषयमा सहमति जुट्न नसक्दा कांग्रेस नेताहरूबाट प्रधानमन्त्री तथा सभापति देउवा एक्लिँदै गएका हुन् । यसका कारण गठबन्धनमा रहेका अन्य दलका नेताहरूले पनि सहज महसुस गरेका छैनन् ।

कांग्रेसको १४ औं महाधिवेशनमा देउवासँग नजिक देखिएका कृष्णप्रसाद सिटौला र विमलेन्द्र निधि पछिल्लो समय देउवासँग बोलचालसमेत बन्द गरेर बसेका छन् । विराटनगर र जनकपुरमा आफ्ना उम्मेदवारलाई देउवाले समर्थन नगरेको भन्दै सिटौला र निधि देउवासँग टाढिएका हुन् । केही समययता सिटौलासँग देउवाको बोलचालसमेत नभएको सिटौलानिकट एक नेताले फरकधारलाई बताए । 



‘स्थानीय तहको निर्वाचनमा उम्मेदवारको सूची फाइनल गरेपछि नै उहाँहरूबीच कुनै पनि विषयमा सरसल्लाह भएको छैन,’ कांग्रेसका ती नेताले भने, ‘कतिसम्म भने बालुवाटार अब जान्‍नँ भनेर सिटौला बसेका छन् ।’

सिटौलाजस्तै निधि पनि देउवासँग चिढिएका छन् । उनले जनकपुर उपमहानगरपालिकामा मनोज साहलाई मेयर उम्मेदवार बनाउन प्रस्ताव गरेका थिए । तर, देउवाले जनकपुरमा गठबन्धनको भागवण्डा भन्दै जसपालाई मेयर उम्मेदवार दिने निर्णय गरे ।



‘देउवाले यस्तो निर्णय गर्नुको कारण विमलेन्द्रलाई कमजोर बनाउन नै थियो,’ ती नेताले भने, ‘देउवाको यो निर्णयको विरोध निधिले गरेनन् मात्र उनले गठबन्धनका उम्मेदवारलाई जिताउन गरिएको कार्यक्रम बहिस्कार गरे, बागी उम्मेदवारलाई सहयोग गरे ।’ अन्ततः जनकपुरमा निधिले चाहेका मनोज साह नै मेयरमा निर्वाचित भए । यसले गर्दा देउवा र निधिको सम्बन्ध थप चिसिएको छ ।

पछिल्लो समय कांग्रेस नेता प्रकाशमान सिंहसँग नजिकिएका देउवासँग सिंहको सम्बन्ध पनि स्थानीय तह निर्वाचनपछि राम्रो हुन सकेको छैन । आफ्नो उत्तराधिकारीका रूपमा सिंहलाई अगाडि सार्ने योजना बनाएका देउवा सिंह पत्नी सिर्जना सिंहले काठमाडौं महानगरमा पराजय भोगेपछि हच्किएका हुन् ।

‘अब प्रकाशनमानको काठमाडौंको राजनीतिक कमजोर भएको हुनसक्ने अनुमान देउवाले गरेका छन्,’ ती नेताले फरकधारलाई भने, ‘यसले गर्दा निकट हुँदै गएको सिंह देउवा सम्बन्ध पनि अहिले संकटमा पर्न थालेका छ ।’

  • प्रकाशित मिति : जेठ २०, २०७९ शुक्रबार १३:९:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया