जनकपुरधाम उपमहानगरपालिकाको नगरकार्यपालिका सदस्य चयनका लागि शुक्रबार भएको निर्वाचनबाट नेपाली कांग्रेसका ६ र नेकपा एमालेका २ जना सदस्य निर्वाचित भएका छन् । नगरसभा सदस्यले चयन गर्ने निर्वाचन प्रक्रियाबाट कांग्रेस र एमालेका उम्मेदवारहरू विजयी भएका हुन् ।
उपमहानगरपालिकाको नगर कार्यपालिका सदस्यमा नेपाली कांग्रेसबाट महिला सदस्यहरुमा फूल कुमारी देवी, मनीषा कुमारी देवी, शारदा पन्त, शैलकुमारी चौधरी र संजू देवी निर्वाचित भएका छन् ।
कांग्रेसबाट दलित तथा अल्पसंख्यकतर्फ राकेश विक्रम साह र नेकपा एमालेबाट दीपेन्द्रकुमार साह तथा संतोषकुमार महतो निर्वाचित भएका छन् ।
निर्वाचित भएका राकेशले ८६, सन्तोषले ७८ र दीपेन्द्रले ६८ मत प्राप्त गरे । सोही पदमा एमालेका उम्मेदवार जयशंकर गुप्ताले २९ र कांग्रेसका पंकजकुमार महतोले ४९ तथा रामप्रवेश ठाकुरले ३५ मत प्राप्त गरेका छन् ।
नगरकार्यपालिका सदस्य चयनको निर्वाचनमा एमाले र कांग्रेस एक्लाएक्लै उभिएका थिए ।
वैशाख ३० मा भएको स्थानीय तह निर्वाचनबाट उपमहानगरपालिकाको नगरसभामा कांग्रेसबाट ७०, एमालेबाट ३६, लोसपा १०, स्वतन्त्र ६, जसपा ३, माओवादीबाट १ र तमलोपा १ गरी १२७ सदस्य निर्वाचित भएका थिए । उक्त निर्वाचनबाट निर्वाचित १२५ सदस्यले कार्यपालिका सदस्य चयनका लागि मतदान गरेका थिए ।
उपमहानगरपालिकाको नगर कार्यपालिका सदस्यमा ८ पदका लागि १६ जनाले उम्मेदवारी दिएका थिए ।
जनकपुरधामको कार्यपालिकामा कांग्रेसको १८, अन्य दलको १७
८ जना कार्यपालिका सदस्य निर्वाचित भएसँगै जनकपुरधाम उपमहानगरपालिकाको ३५ सदस्यीय नगरकार्यपालिकामा कांग्रेसका १८, एमालेका ९, स्वतन्त्र ३, लोसपाका २, तमलोपाका १, माओवादीका १ र जसपाका १ जनाले प्रतिनिधित्व गर्ने भएका छन् ।
उपप्रमुख किशोरी साहसहित ११ वटा वडाबाट निर्वाचित वडाध्यक्ष र नवनिर्वाचित ६ जना कार्यपालिका सदस्यको हैसियतमा रहनेछन् ।
यता, एमालेबाट ९, स्वतन्त्र ३, लोसपाका २, तमलोपाका १, माओवादीका १ र जसपाका १ जनाले कार्यपालिकामा प्रतिनिधित्व गर्नेछन् ।
यसैगरी कार्यपालिका सदस्यको निर्वाचन सम्पन्न भएसँगै उपमहानगरपालिकाको नगरसभामा कांग्रेसको संख्या ७० पुगेको छ । दलित तथा अल्पसंख्यकबाट निर्वाचित भएका तीन जना स्वतः नगरसभाको सदस्य हुनेछन् ।
निर्वाचनको प्रक्रिया पूरा भएसँगै उपमहानगरपालिकाको नगरसभा र कार्यपालिकामा कांग्रेसले स्पष्ट बहुमत हात पारेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।