काठमाडौंमा हारबारे रामचन्द्र पौडेलले भने - वंशवाद र जनतालाई हेप्दा नेताको टाउकोमा लौरो बजारियो

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई हेपेर निर्णय गर्दा कांग्रेस काठमाडौं महानगरपालिकाको मेयरमा पराजित हुनुपरेको दाबी गरेका छन् ।

वरिष्ठ नेता पौडेलले नेपाली कांग्रेस र नेकपा एमालेले जनताले चाहेको विपरीत उम्मेदवार खडा गरी जनतालाई हेपेका कारण राजनीतिक दल महानगरको प्रमुख बन्न नसकेको बताएका हुन् । शनिबार उनले काठमाडौं महानगर पालिकाको मेयरका लागि कांग्रेस र एमाले दुवै पार्टीले अघि सारेका उम्मेदवार उपयुक्त नभएको बताए । 

प्रमुखका उम्मेदवारको कार्यक्षमताको समय सकिसकेकोले जनताले राजनीतिक दलहरुले गरेको निर्णयलाई लत्याएको बताए । वरिष्ठ नेता पौडेलले आफूले कामनपा प्रमुखको उम्मेदवारका रूपमा महिलामा हरिप्रभा खड्गी र पुरुषमा तीर्थमान डंगोललाई अघि सारे पनि निर्णायकले नमान्दा राजनीतिक दल हार व्यहोर्न बाध्य भएको बताए । नेपाली कांग्रेसको नेतृत्व पंक्तिले वंशवादको आधारमा उम्मेदवारी दिएको भन्दै उनले जनताले त्यसको सजाय नेताको टाउकोमा लौरो लगाइदिएको बताए ।

'उम्मेदवारी दिँदा नै वंशवादको आधारमा जो दिइयो त्यो गलत भयो ।  जनताले त्यसको सजाय लौरो लगाइदिए नेताको टाउकोमा । मैले त्यतिबेला पनि भनेको हो, मेरो केही लागेन । म निर्णायक ठाउँमा होइन । पार्टी सभापति नै निर्णायक हुन्छ । उहाँले इसारा गरेपछि मुख्यसचिवले टिकट पठाइसक्छ, म यहाँ छलफल गरिराखेको हुन्छु । त्यस्तो अतीतमा पनि भएको छ । त्यसको परिणाम गत चुनावमा पनि भोगेकै हो’ उनले भने ।

वरिष्ठ नेता पौडेलले आगामी दिनमा पनि यस्तै गल्ती नेतृत्व पंक्तिले गरिरहने हो भने नेपालको राजनीति यस्तै हुन्छ भन्न नसकिने बताए । यस्ता घटनाबाट पाठ सिकेर राजनीतिक दलहरूले जनताले रुचाउने उम्मेदवार उठाउनु पर्ने भन्दै उनले पुनः मूर्ख निर्णय गरेर राजनीतिक दलको अपमान गर्न नहुने बताए । 





  • प्रकाशित मिति : जेठ २१, २०७९ शनिबार १४:४५:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया