सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किनेमा कोरोना संक्रमण देखिन थालेको छ । यहाँ थप एक जनामा कोरोना संक्रमण देखापरेको हो ।
शुक्रबार २१६ जनामा परीक्षण गर्दा एक जनामा संक्रमण पुष्टि भएको जनाइएको छ ।
स्वास्थ्य निर्देशनालयका अनुसार गौरीफन्टा नाकाबाट स्वदेश आइरहेका कैलालीका एक व्यक्तिमा सीमा नाकामै एन्टिजेन विधिमार्फत गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो ।
जेठ ३ गतेपछि १८ दिनपछि यस प्रदेशमा अर्कोमा कोरोना देखिएको निर्देशनालयले जनाएको छ ।
कोरोना संक्रमण बढेपछि भारतसँग सीमा जोडिएका नाकाहरुमा सतर्कता अपनाइएको छ । सतर्कताअनुरुप सीमा नाकाहरुमा हाल पनि परीक्षण कार्य जारी छ ।
यस प्रदेशका गड्डाचौकी, गौरीफन्टा, झुलाघाट र पुलघाट नाकामा कोरोना परीक्षण कार्य जारी रहेको हो ।
सीमानाकामा हेल्थ डेस्क स्थापना गरेर भारतबाट भित्रिने सबैमा एन्टिजेन विधिमार्फत कोरोना परीक्षण भइरहेको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए ।
भारतमा अझै पनि संक्रमित भेटिरहेका र त्यसबाट नेपालमा पनि जोखिम बढ्नसक्ने भएकाले सीमामै परीक्षण जारी राखिएको उनको भनाइ थियो ।
यसैबीच सुदूरपश्चिममा हालसम्म पाँच लाख ४१ हजार ९०७ जनाको कोरोना परीक्षण गरिएकामा ५९ हजार ६४७ जनामा संक्रमण देखिएकामा हालसम्म ६३३ जनाको ज्यान गइसकेको जनाइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।