बाँदरमुढे घटनाको १७ वर्ष : पीडित भन्छन्– प्रचण्डले आश्वासन मात्रै दिए

बाँदरमुढे घटना भएको आज १७ वर्ष पूरा भएको छ । माडीबासीका लागि आजको दिन कालो दिनका रुपमा इतिहासको पानामा दर्ज भएको छ । १७ वर्षअघि भएको बाँदरमुढे बम विस्फोटको घटनाका घाइतेहरुको पीडा अहिले पनि बल्झँदो छ  । 

पीडितले अझैसम्म राज्य भएको महसुस गर्न पाएका छैनन् । चितवन क्षेत्र नं ३ बाट निर्वाचित सांसद एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आश्वासन मात्रै दिएको पीडितको गुनासो छ । माडी प्रचण्डको निर्वाचन क्षेत्रमा पर्छ ।

तत्कालिन विद्रोही माओवादीले २३ जेठ २०६२ मा माडीको बाँदरमुढे खोलामा थापेको एम्बुसमा परी ४२ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा अधिकांश माडीका स्थायी बासिन्दा थिए । नेपाली सेनाका तीन जवानले पनि उक्त घटनामा वीरगति प्राप्त गरेका थिए । 

विद्रोही माओवादीका कमाण्डर स्वयम् प्रचण्ड दुईपटक प्रधानमन्त्री भइसक्दा पनि पीडितले राहत महसुस गर्न पाएका छैनन् । विस्फोटमा एउटा घरका तीन जनासम्म परेका थिए । 

१५० यात्रु बोकेर माडीको बगइबाट भरतपुरतर्फ आउँदै गरेको ना १ ख ३२४५ नम्बरको यात्रुवाहक बसमा माओवादीले बम विस्फोट गराउँदा घटनास्थलमा ३९ र उपचारका क्रममा तीन जनाको मृत्यु भएको थियो । सामान्य घाइते भई घरमा उपचार गराएका घाइतेको रेकर्डबाहेक ७५ जना घाइते भएका थिए ।

मृतकहरूको सम्झनामा आज घटनास्थलमा स्मृति कार्यक्रमको आयोजना गरिएको छ । एड्भोकेसी फोरमको सहकार्यमा बाँदरमुढे घटना पीडित समितिले घटनास्थलमा स्मृति कार्यक्रमको आयोजना गरेको हो । दोषीलाई कारबाही गरी पीडितको अधिकार सुनिश्चित गर्न पीडितले माग गरेका छन् ।



घटना भएको १७ वर्ष भइसक्दा पनि पीडा घट्नेभन्दा बढ्दै गएको पीडित यमकला चुवाई बताउँछिन् । घटना हुँदा उनको पेटमा ८ महिनाको गर्भ थियो । घटना भएको एक महिनापछि उनले छोरीलाई भरतपुर अस्पतालमा जन्म दिइन् । तर, छोरीको मुटुको धड्कन असामान्य भएपछि उनले छोरीलाई अस्पतालमा सात महिनासम्म राखिन् ।

‘घटनापछि छोरीलाई जन्म त दिएँ र मुटुको धड्कनले राम्रोसँग काम नगरेकाले अस्पतालको आइसियूमा सात महिनासम्म राखेँ’, उनी भन्छिन्, ‘मेरो आँखामा छर्रा लागेको थियो । अहिलेसम्म पनि आँखा राम्रोसँग देख्न सक्दिन । दाहिने खुट्टा भाँचिएर रड राखेकी छु ।’



उनको हातका औँला काटिएको छ । अहिले ऋण लिएर आफ्नो र छोरीको उपचार गर्दै आएको उनी बताउँछन् । चुवाईका तीन छोरी, एक छोरा र श्रीमान छन् । बम विस्फोटमा पर्दा गर्भमा रहेकी छोरी अहिले १७ वर्षको पुग्न लागिन्  । उनी कक्षा ११ मा पढ्दै छिन् ।

अर्का दुई छोरी १८ वर्ष नाघिसके । उनीहरू स्नातक तहमा पढ्छन् । १८ वर्ष नाघेपछि दुई छोरीलाई सरकारले दिँदै आएको पढाई खर्च बापतको रकम रोकिएको उनले बताइन् । 

‘१८ वर्ष पुग्दासम्मको लागि सरकारले छोराछोरीलाई पढाई खर्च दिएको थियो । १८ वर्ष नाघेपछि नदिने रहेछ’, उनी भन्छिन्, ‘दुई छोरी १८ वर्षभन्दा बढीका भए । १३ र १४ कक्षामा पढ्दै छन् । उनीहरूलाई दिँदै आएको पढाई खर्च रोकिएको छ ।’

घरमा कमाउने मान्छे कोही नभएको भन्दै उनले ठूलो कक्षामा पढ्न थालेका छोरीहरूको पढाई खर्च जुटाउन समस्या भएको बताइन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले पीडितलाई सँधै झुटो आश्वासन दिएर भोट माग्ने गरेको उनी बताउँछिन् ।

औषधिमा महिनामा दुईदेखि सात हजार रुपैयाँसम्म खर्च भइरहेको उनले बताइन् । छोरीको लागि मात्रै महिनामा करिब पाँच हजार रुपैयाँ खर्च हुने गरेको उनको भनाइ छ ।

‘घटनाले छोरी मानसिक रूपमा कमजोर छन् । उनले पनि महिनामा पाँच हजार जतिको औषधि खाइरहेकी छन्’, उनले भनिन्, ‘झन् पछि–पछि पीडा बल्झिँदै गएको छ ।’

बम बिस्फोटमा श्रीमती र एक छोरा गुमाएका तत्कालिन कल्याणपुर गाविस–५ का निर्मल सापकोटाको पनि पीडा उस्तै छ । बाँदरमुढे घटनाबारे कसैले सम्झाइ दिँदा अहिले पनि मन भक्कानिएर आउने गरेको उनी बताउँछन् ।

‘मैले पाँच वर्षको छोरो र श्रीमती गुमाएँ’, उनी भन्छन्, ‘घटनाबारे कसैले सम्झाइदियो भने अहिले पनि मन भक्कानिन्छ ।’ २०७४ को प्रतिनिधि सभाको निर्वाचनका बेला पीडित परिवारका एक सदस्यलाई रोजगारीको सुनिश्चितता गर्ने र प्रतिपरिवार १० लाख रुपैयाँ उपलब्ध गराउने प्रचण्डको आश्वासन थियो । त्यसका लागि अमिक शेरचनको संयोजकत्वमा समिति बनाएपछि चुनाव जितेपछि प्रचण्डले सबै भुलेको उनी बताउँछन् ।

‘पीडितका छोराछोरीलाई स्वास्थ्य र शिक्षा निःशुल्क गर्ने भन्ने थियो । घटनास्थलमा स्मारक बनाउने प्रतिबद्धता जनाएका थिए । प्रचण्डले भनेका कुरा सबै आश्वासनमा मात्रै सीमित भएका छन्’, उनी भन्छन्, ‘बरु नगरपालिकाले दिन्छु भनेको एक लाख रुपैयाँ विभिन्न चरणमा गरेर पीडितलाई दिएको छ ।’

बाँदरमुढे घटना पीडित समितिका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले राज्यले पीडितको मागलाई सम्बोधन गर्न नसकेको बताउँछन् । उनी आफैँ पनि बम विस्फोटमा परेर घाइते भएका छन् । काम विशेषले भरतपुर आउँदै गरेका उनी चढेको बस पौने ८ बजे बम विस्फोटमा परेको थियो । 

बम विस्फोटको घटनामा परेर घाइते भएका उनको मेरुदण्ड र देब्रे खुट्टा भाँचिएको थियो । खुट्टामा स्टिल हालेपछि अलिअलि हिँड्न सकिएको उनी बताउँछन् । उनीजस्ता थुप्रै घाइतेको अवस्था अहिले पनि नाजुक छ ।

‘धेरै घाइतेहरू उपचार नै गर्न नसकेर रोइरहनुभएको छ’, उनी भन्छन्, ‘कमसेकम राज्यले पीडितलाई परिचय पत्र दिएर राज्यबाट सहुलियत पाउने व्यवस्था गरिदिएको भए पीडितलाई धेरै राहत हुने थियो ।’ बम विस्फोटको घटनामा परेका घाइतेहरू एकोहोरिएर टोलाउने र मानसिक रूपमा पनि कमजोर भएको उनी बताउँछन् ।

‘केही घाइतेले अहिले पनि मानसिक रोगको औषधि खानुभएको छ । हात खुट्टा भाँचिएकाले औषधी मलम गर्ने र अर्थोको चेक गराउने गर्नुभाछ’, उनी भन्छन्, ‘उपचार महंगो हुँदा पीडितहरू झन् पीडामा हुनुहुन्छ । घाइतेले काम गरेर कमाउन सक्दैन, न राज्यले नै उनीहरूलाई हेरेको छ ।’

घाइते जीवन लिएर बाँचेकामा पीडितमा हीनताबोध हुन थालेको उनी बताउँछन् । ‘प्रचण्डले पीडितहरूलाई राखेर थुप्रै आश्वासन दिनुभयो तर न्यायको बाटोमा कतै लाग्नुभएन । व्यक्तिलाई किन्न सकिन्छ कि भन्ने बाटोमा लाग्नुभयो’, उनी भन्छन्, ‘घटना निरुपण गर्न उहाँ लाग्नुभएन ।’ 

२०७४ को निर्वाचनमा केही पीडितलाई राखेर ‘एक घर एक रोजगार’ दिने र घाइतेलाई औषधि उपचार व्यवस्था गर्ने भनेर प्रचण्डले आश्वासन दिएका तर त्यो पूरा नभएको उनले बताए ।

  • प्रकाशित मिति : जेठ २३, २०७९ साेमबार ७:१६:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया