बाजुराको बुढीगंगामा चौथोपटक तोकिए निर्वाचन अधिकृत

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि बाजुराको बुढीगंगा नगरपालिकामा चौथोपटक निर्वाचन अधिकृत फेरबदल गरेको छ । आयोगले बुढीगंगाको निर्वाचन अधिकृतमा चार दिनअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत अतिरिक्त समूहमा कार्यरत लक्ष्मणबहादुर कठायतलाई तोकेको हो ।

उनीभन्दा अगाडि आएका तीनजना निर्वाचन अधिकृत फिर्ता भइसकेको छन् । कठायत पनि बाजुरा पुगेका छैनन् । उनी आइतबार मात्रै धनगढीबाट बाजुराका लागि हिँडेको बताइएको छ । जिल्ला पुगेर दलहरूबीच छलफल गरेपछि मतदान हुने मिति तोक्ने उनको भनाइ छ । 

तेस्रोपटक आयोगले बाजुरा अदालतका श्रेष्तेदार पुष्पराज पाण्डेलाई निर्वाचन अधिकृत तोकेको थियो । तर, व्यक्तिगत कारण देखाउँदै पाण्डे तोकिएको जिम्मेवारी पूरा गर्नबाट पन्छिएपछि आयोगले चौथोपटक कठायतलाई निर्वाचन अधिकृतको जिम्मेवारी दिएको हो ।

देशका अन्य पालिकामा स्थानीय तहमा निर्वाचन सम्पन्न भई नवनिर्वाचित जनप्रतिनिधिहरूले कामकाज सुरु गरिसकेका भए पनि बुढीगंगामा भने अझै निर्वाचन हुन सकेको छैन । नेपाली कांग्रेस र नेकपा एमालेबीच मतगणना वा पुनः मतदान भन्ने सम्बन्धमा उत्पन्न विवादको छिनोफानो गर्दै आयोगले १२ जेठमा बुढीगंगाका १० वटै वडामा पुनः मतदान गराउने निर्णय गरेको थियो ।

पुनः मतदान गराउने मिति तोक्ने अधिकार निर्वाचन अधिकृतलाई दिइएको भएपनि पुनः मतदान हुने मितिको भने अझै टुंगो लागेको छैन । गत ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनको समयमा कांग्रेस र एमालेका कार्यक्रर्ताहरूले मतदानस्थल कब्जा गरेको एकअर्कालाई आरोप लगाउँदै आएका छन् ।





  • प्रकाशित मिति : जेठ २३, २०७९ साेमबार ७:४७:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया