भुसाललाई कारबाही सिफारिस गरेकोमा रावल असन्तुष्ट : भने– उल्टो बाटो हिँड्दा झन् पराजय हुन सक्छ

नेकपा एमालेका नेता भीम रावलले स्थानीय तहको निर्वाचनबारे गम्भीर समीक्षा हुनुपर्ने बताएका छन् । 

गत ३० वैशाखमा सम्पन्न स्थानीय निर्वाचन एमालेले अपेक्षाकृत नतिजा ल्याउन नसकेपछि रावलले यस्तो बताएका हुन् । यसपटकको निर्वाचनमा एमालेले ७५३ मध्ये २०५ स्थानीय तह मात्र जित्न सक्यो । 

०७४ को निर्वाचनमा एमालेले सर्वाधिक २९४ पालिका जितेको थियो । स्थानीय निर्वाचनको परिणाम सोचेअनुरूप नआएपछि भीम रावल, घनश्याम भुसाललगायत एमाले नेताहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीको आलोचनासमेत गरेका छन् । 

भुसाललाई त  एमाले अनुशासन विभागले कारबाहीका लागि सिफारिससमेत गरिसकेको छ । यसैबीच, भुसाल कारबाहीको सिफारिसमा परेपछि रावलले असन्तुष्टि जनाएका छन् । आज बिहान ट्विट गर्दै उनले ‘उल्टो बाटो हिँड्दा झन् पराजय हुन सक्छ’ भन्दै सच्चिन नेतृत्वलाई आग्रहसमेत गरेका छन् । 
 
‘कमजोरीको संस्थागतरूपमा गम्भीर समीक्षा गरी बाटो तय गर्नुपर्छ, यसो नगरी उल्टो बाटो हिँड्दा झन् पराजय हुन सक्छ,’ रावलले भनेका छन् । उनले आगामी प्रदेशसभा र संघीय चुनाव एमालेले जित्नुपर्ने र त्यसका लागि पार्टीलाई एकताबद्ध बनाउनुपर्नेमा पनि जोड दिएका छन् ।  

‘देश, जनता र पार्टीलाई एकताबद्ध र बलियो बनाई राष्ट्रिय स्वाधीनता, स्वाभिमान एवं संविधान, सिद्धान्त र लोकतन्त्रको रक्षा गर्नु आजको आवश्यकता हो । यसका लागि आगामी चुनाव जित्नुपर्छ,’ रावलले भनेका छन् । 





  • प्रकाशित मिति : जेठ २३, २०७९ साेमबार १०:१८:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया