सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री मीनबहादुर विश्वकर्मा बलात्कार तथा यौनहिंसाका घटनामा उजुरीका लागि हदम्याद हटाउन नहुने पक्षमा उभिएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद विश्वकर्माले नक्कली मुद्धाको चाङ लाग्ने र वास्तविक पीडितले न्याय नपाइ मानसिक सन्तुलन गुमाएर सडकमा आउने अवस्था आउने भन्दै त्यस्ता जघन्य अपराधका घटनाको उजुरीका लागि हदम्याद राख्ने कानुनी व्यवस्था हटाउन नमिल्ने बताएका हुन् ।
उनले वृद्ध, अशक्त, बालबालिकाको हकमा भने समयमै उनीहरुले उजुरी दिन नसक्ने भएकाले हदम्याद हटाउन मिल्ने भए पनि सामान्य मानिसको हकमा भने त्यसो गर्न नहुने तर्क गरे ।
सांसद विश्वकर्माले यौन हिंसा गम्भीर अपराध भएकाले पीडकलाई कडाभन्दा कडा कारबाही गर्न र पीडितलाई क्षतिपूर्तिसहितको न्याय दिन पनि सरकारसँग माग गरे ।
उनले भने, ‘यौन हिंसा गम्भीर प्रकारको अपराध हो । यसका दोषीलाई कडाभन्दा कडा कारबाही हुनुपर्दछ । हामी सबैको र नेपाली समाजको नै माग छ । तर, अपराध भन्नेबित्तिकै यसको हदम्याद राख्ने कि नराख्ने भन्ने बारेमा चाहिँ अलि बढी गहन छलफल हुनुपर्दछ जस्तो लाग्छ ।'
सांसद विश्वकर्माले कुनै पनि क्षेत्रको कानुन तर्जुमा गर्नुअघि त्यस विषयमा व्यापक छलफल गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।