कुवेतमा नेपाली फुटबल टोलीको असली परीक्षा, कस्तो छ प्रतिद्वन्द्वीसँगको विगत ?

अर्को वर्ष आयोजना हुने एसिया महादेशको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता ‘एएफसी एसियन कप’ को अन्तिम चरणको छनोट खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोली अहिले कुवेतमा छ । नेपाली टोली कतारमा टिमोर लिस्टे, श्रीलंका र ओमानसँग मैत्रीपूर्ण खेल खेलेर कुवेत पुगेको हो । अभ्यास खेलमा नेपालले टिमोर लिस्टे र श्रीलंकासँग बराबरी खेल्दा ओमानविरुद्ध भने २–० को हार बेहोरेको थियो ।

एसियन कप छनोटको तयारी स्वरूप नै नेपालले कतारमा प्रशिक्षण गर्नुका साथै अभ्यास खेल खेलेको हो । कतार फुटबल संघले एसियन कप तयारीमा रहेका र कतारमा क्याम्प राखेका विभिन्न टोलीलाई अभ्यास खेलको अवसर मिलाएको थियो ।  

अब नेपालले कुवेतमा थप बलियो टोलीको सामना गर्नेछ । यसपालि नियमित कप्तान तथा उत्कृष्ट गोलरक्षक किरणकुमार लिम्बूसहित सिनियर टोलीका ११ अनुभवी खेलाडीलाई बाहिर राख्दै नेपाली टोली युवा तथा कम अनुभवी खेलाडीका साथ कुवेतमा छ । 

मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई कारण भन्दै विद्रोह गरेर १० खेलाडीले नेपालमै बन्द प्रशिक्षण छाडेका थिए । त्यसलाई समर्थन गर्दा माल्दिभ्समा व्यावसायिक लिग खेलिरहेका किरण पनि टोलीमा अटाउन सकेनन् । यसपटक टोलीमा कम अनुभव भएका खेलाडी छन् । टिममा रहेका तीनवटै गोलकिपरले अहिलेसम्म राष्ट्रिय टोलीबाट डेब्यु गरिसकेका छैनन् ।

दीप कार्की, विशाल सुनार र टिकेन्द्र थापा यसअघि राष्ट्रिय टोलीमा अटाए पनि डेब्यु गर्न भने पाएका थिएनन् । त्यस्तै, पहिलोपटक राष्ट्रिय टोलीमा परेका शिव गुरुङ, विकास तामाङ, निरकुमार राई र रोशन राना मगर पनि डेब्युको प्रतीक्षामा छन् ।  

नेपाल र कतारमा तयारी पछि अब नेपालले कुवेतमा अन्तिम परीक्षा दिँदैछ, जुन निकै कठिन हुने निश्चित छ । एसियन कप छनोटको समूह ‘ए’ नेपाल, जोर्डन, कुवेत र इण्डोनेसिया छन् । यो समूहको विजेता सिधै एसियन कपमा छनोट हुनेछ । 



दोस्रो हुने टोलीलाई पनि ६ समूहका दोस्रो हुने मध्ये पाँच उत्कृष्टभित्र पर्न सके  एसिया कपमा खेल्ने अवसर मिल्नेछ । नेपालका लागि सबैभन्दा ठूलो महादेशीय फुटबल प्रतियोगिता खेल्नका लागि यही दुई विकल्प छ । तर, यो चुनौतीपूर्ण मात्र नभइ नेपालका लागि असम्भव जस्तै छ । गत वैशाखमै प्रशिक्षक अल्मुताइरीले पनि एसियन कपमा छनोट हुने नेपालको सम्भावना न्यून रहेको बताइसकेका छन् ।

अल्मुताइरीको अभिव्यक्तिले खेलाडीको मनोविज्ञानमा केही असर परेको छ । यस पटक नेपाल बलियो समूहमा छ । नेपालले आफ्नो समूहमा रहेका तिनै टोलीलाई अहिलेसम्म हराउन सकेको छैन । युवा र कम अनुभवी खेलाडी रहेको टिम भएकाले नेपालको लागि शीर्ष दुई पर्नु ठूलै पहाड चढ्नु सरह हो । 



नेपालले पहिलो खेल नै सबैभन्दा बलियो टिम जोर्डनसँग २५ जेठमा खेलेर छनोटको सुरुवात गर्नेछ । त्यसपछि नेपालले २८ जेठमा कुवेत र ३१ जेठमा इन्डोनेसियाको सामना गर्ने तालिका छ ।   

कति बलियो छन् नेपालको विपक्षी टोली? 

जोर्डन

नेपालले हालसम्म चार खेल खेलको छ, जसमा तीन हार एक बराबरीको नतिजा निकालेको छ । नेपाल–जोर्डनले सन् २०११ मा पहिलोपटक एकअर्काको सामना गरेका थिए । विश्वकप छनोटअन्तर्गतको उक्त भेटमा नेपालविरुद्ध जोर्डनले ९–० को फराकिलो जित हात पारेको थियो । सोही वर्ष विश्वकप छनोटअन्तर्गत नै घरेलु मैदानमा नेपालले जोर्डनलाई १–१ को बराबरीमा रोकेको थियो । 

नेपालले विश्वकप छनोटअन्तर्गत सन् २०१९ र २०२१ मा भएको भेटमा समान ३–० को हार बेहोरेको थियो । इतिहास हेर्दा नेपालले जोर्डनसँग १६ गोल बेहोर्दा एक गोल मात्र फर्काउन सकेको छ । 

कुवेत

नेपाल र कुवेतबीच हालसम्म आठ खेल हुँदा नेपालले सातमा हार र एक खेल बराबरी खेलेको छ । यी दुई टिमले पहिलोपटक सन् १९८२ मा एकअर्काको सामना गरेका थिए । एएफसी एसियन कप छनोटअन्तर्गतको उक्त भेटमा नेपालले ३–१ को पराजय बेहोरेको थियो ।

नेपाल सन् १९८६ मा ५–० र १९९४ मा ८–० ले पराजित हुन पुग्यो । यी दुवै खेल एसियन्स गेम्स छनोटअन्तर्गत भएका थिए । एफसी एसिया कप छनोटअन्तर्गत सन् २००० मा भएको भेटमा नेपाल ५–० ले पराजित हुँदा सन् २०१९ को मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो । 

त्यस्तै, नेपालले सन् २०१९ मै भएको मैत्रिपूर्ण खेलमा १–० तथा विश्वकप छनोट अन्तर्गतका खेलमा ७–० र १–० को हार बेहोर्‍यो । नेपालले हालसम्म कुवेतविरुद्ध ३० गोल बेहोर्दा एक गोल मात्र फर्काउन सकेको छ । 

इन्डोनेसिया 

नेपालले अहिलेसम्म एकपटक मात्र इन्डोनेसियाको सामना गरेको छ । मैत्रीपूर्ण खेलअन्तर्गत सन् २०१४ मा भएको उक्त खेलमा नेपाल २–० ले पराजित भएको थियो ।

नेपाले यसअघि आफ्नो उत्कृष्ट टोलीलाई मैदान उतार्दा पनि जोर्डन, कुवेत र इन्डोनेसियालाई हराउन सकेको छैन । यसपालि युवा तथा कम अनुभवी खेलाडीले बलिया टोलीविरुद्ध कस्तो प्रदर्शन गर्लान् त्यो हेर्नलायक हुनेछ । 

हुन यो प्रतियोगिताबाट नेपालले खासै ठूलो आशा राखेको पनि छैन । नेपालका लागि कुनै एक खेलमा जित वा बराबरीको नतिजा पनि ठूलो मानिनेछ । प्रशिक्षक अल्मुताइरीले पनि यही आशा राखेका छन् ।  

  • प्रकाशित मिति : जेठ २३, २०७९ साेमबार १५:१५:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया