मकवानपुर गोल्डकपः त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश

हेटौंडामा जारी स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । 

क्वार्टरफाइनलतर्फको पहिलो खेलमा आर्मीले नेपाल एपिएफ क्लबको चुनौतीलाई पन्छाउँदै आर्मी सेमिफाइनल प्रवेश गर्ने पहिलो टिम बनेको हो । साविक विजेता समेत रहेको आर्मीले एपिएफलाई टाइब्रेकरमा ५–४ गोलअन्तरले पराजित गर्यो । 

टाइब्रेकरको क्रममा एपिएफको अन्तिम प्रहारलाई आर्मीका गोलरक्षक कुथुले उत्कृष्ट रुपमा बचाउ गरेका थिए । टाइब्रेकरमा आर्मीका तर्फबाट दीपक गुरुङ, सीमान्त थापा मगर, दिनेश हेन्जन, कमलबहादुर थापा र सन्तोष केसीले गोल गरे । 

यता, एपिएफको तर्फबाट नवीन लामा, रवि थिङ, सनिश श्रेष्ठ र सुदीप शिखाकारले गोल गर्दा मनिकुमार लामाको प्रहार कुथुले रोक्न सफल भएका थिए ।

टिमलाई जित दिलाउन सफल गोलरक्षक कुथु म्यान अफ दी म्याच घोषित हुँदै नगद १० हजार रुपैयाँ प्राप्त गरे । यसअघि भएको निर्धारित ९० मिनेटको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । 

पहिलो हाफमा आर्मीले अधिकतम समय खेललाई आफ्नो पक्षमा राखे पनि पाएको अवसरको सदुपयोग गर्न नसक्दा खेल गोलरहित बनेको थियो । आर्मीले पहिलो हाफमा नै पाएको पेनाल्टीलाई समेत गोलमा परिणत गर्न सकेन । पेनाल्टीमा आर्मीका विवेक बस्नेतको प्रहारलाई एपिएफका गोलरक्षक राजु नगरकोटीले रोक्न सफल भएका थिए ।



यस्तै, दोस्रो हाफमा एपिएफले केही सुधारिएको खेल प्रस्तुत गर्दा निकै प्रतिस्पर्धात्मक बनेको खेलको ७७औँ मिनेटमा पाएको पेनाल्टीलाई दिनेश हेन्जनले गोलमा परिणत गर्दै आर्मीलाई अग्रता दिलाएका थिए ।



  • प्रकाशित मिति : जेठ २३, २०७९ साेमबार २१:५२:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया