काठमाडौंको फोहोर आजबाट उठाइँदै

काठमाडौंका विभिन्न स्थानमा ११ दिनदेखि थुप्रिएको फोहोर आज बिहानबाट संकलन गरिने भएको छ । सोमबार स्थानीयका माग सम्बोधन गर्ने गरी फोहोरमैला व्यवस्थापन गर्ने सहमति भएपछि आजदेखि महानगरभित्रको फोहोर संकलन गरिने भएको हो । 

सोमबार सिसडोल र बञ्चरेडाँडाका जनप्रतिनिधिहरूको सहभागितामा भएको वार्ताले स्थानीयका माग सम्बोधन गर्न समय तालिकासहित प्रतिबद्धतापत्र जारी गरेको छ । हरेक दिन बञ्चरेडाँडा डम्पिङ साइटमा फोहोर खसालेपछि १५ सेन्टिमिटर उचाइको माटोले पुर्ने सहमति भएको आयोजना निर्देशक रवीन्द्र बोहोराले जानकारी दिए ।

यसरी माटोले पुरेपछि दुर्गन्ध नफैलिने उनले बताए। दुर्गन्ध हटाउन नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को सिफारिसका आधारमा १० दिनभित्र रासायनिक वा जैविक उपचारको विधि पनि लागू गरिनेछ । १७ वर्षदेखि लगातार काठमाडौंको फोहोर थुपारिँदै आएको सिसडोल बन्द गरी हरित क्षेत्रमा परिणत गर्ने र बञ्चरेडाँडा डम्पिङ साइटले असर गर्ने प्रभावित क्षेत्र निर्धारण गरेर अधिग्रहण प्रक्रिया थालनी गर्ने पनि प्रतिबद्धतापत्रमा छ ।

यसको निम्ति बञ्चरेडाँडाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनका आधार ६ महिनाभित्र प्रभावित क्षेत्रको जग्गा अधिग्रहण प्रक्रिया सुरु गरिने बोहोराले जानकारी दिए । प्रभावित क्षेत्रका जग्गा यकिन गरी अधिग्रहण गर्ने जिम्मा सहरी विकास मन्त्रालयको हुनेछ ।

काठमाडौं महानगरपालिकाले नास्टको विज्ञ टोलीबाट बञ्चरेडाँडा डम्पिङ साइटले प्रभाव पार्ने क्षेत्रको वातावरणीय प्रभाव मूल्यांकन गराएको थियो। महानगरले उक्त प्रतिवेदन सार्वजनिक गर्ने पनि सहमति भएको छ । 





  • प्रकाशित मिति : जेठ २४, २०७९ मंगलबार ६:४९:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया