रोमाञ्चक जामाचो हाइकिङ [तस्बिरहरू]

काठमाडौं नजिकै कतै शान्त र हाइकिङ जाने ठाउँको खोजी हुनुहुन्छ? यदि हुनुहुन्छ भने जामाचो गुम्बा उत्तम गन्तव्य हुनसक्छ । काठमाडौंबाट छोटो दूरीमा रहेको यो ठाउँ हाइकिङका लागि उचित छ ।​

एकदिनका लागि भए पनि काठमाडौंको धुँवाधूलो र कोलाहलबाट मुक्त हुने सबैको चाहना छ । हामीले पनि त्यो चाहना पूरा गर्न हाइकिङ जाने निधो गर्यौं । ठाउँ खोजी गर्दै जाँदा मनसुनमा जामाचो गुम्बा उपयुक्त लाग्यो ।

शिवपुरी राष्ट्रिय निकुञ्जमा पर्ने जामोचा पुग्न हामीले काठमाडौं–बालाजु बाइपास समात्यौँ । यहाँबाट करिब डेढ किलोमिटर उत्तरतर्फ त्रिशूली राजमार्गको फूलबारी गेट भेटिन्छ । अनि यहाँबाट ४.३७१ किलोमिटर ठाडो चचुरोमा छ जामाचो गुम्बा ।

निकुञ्जभित्र प्रवेश गर्नुपूर्व हाम्रो चारजनाको समूहले टिकट काट्यो । टिकटको मूल्य प्रतिव्यक्ति १ सय रुपैयाँ । टिकट लिएपछि गेटमा सामान्य चेकजाँज हुन्छ । हामीले पनि झोला खोलेरै सुरक्षाकर्मीलाई देखायौँ । ‘ब्याकमा चक्कु, सलाई, लाइटर बोक्नु भएको छ?,’ चेकजाँजमा खटिनुभएकी महिला सैनिकले भन्नुभयो । जवाफ हामीले ‘हामी धूमपान गर्दैनौं, त्यस्तो कुनै चिज छैन ।’  

सेनाको चेकजाँचपछि हामीले समात्यौँ धार्मिक तथा पर्यटकीय ठाउँ जामाचो गुम्बाको उकालो बाटो । निकुञ्जको प्रवेशद्वारा पुग्नेवित्तिकै स्वच्छ र चिसो हावाको स्पर्शले मनै आनन्द भयो । घनघोर जंगलमा सुन्दर उकालो बाटो, कलात्मक सिँढी । यात्रा रोमाञ्चक हुने प्रवेशद्वारमाथि उक्लिने बित्तिकै पक्का भयो । 



मौसम चिसै थियो । तर, ठाडो उकालोले एकछिनमै पसिनासिना बनाउँथ्यो । यसका बाबजुद हामीले सिँढी चढ्दै थकाइका सुस्केरा मार्दै आनन्दका साथ यात्रा जारी राख्यौं । प्रवेशद्वारबाट झण्डै एक किलोमिटरको उकालो बाटोले थकित बनायो । 



‘फूलबारी गेट जाने बाटो’ लेखिएको स्थानमा पुगेपछि भने निकै कठिन उकालो बाटो सकियो । सबैभन्दा ठाडो बाटो सकिएलगत्तै चेकपोस्ट देखिन्छ । यहाँबाट भने यात्रा गर्दा आनन्द आयो । हिँड्दै/बस्दै र रमाइलो गर्दै हामीले हिँड्न छाडेनाैँ । बाटोमा धेरै मानिस भेटिए, हामीले भेटेकामध्ये अधिकांश पहिलोपटक गुम्बासम्मको यात्रा गर्दै थिए । 

चराचुरुङ्गीको चिरविराहटका साथ यात्रा रोमाञ्चक हुँदै थियो । अचानक पानी पर्‍यो । यात्रामा वर्षा बाधक बन्ने संकेतले नै छाता बोकेर हिँडेका थियौं । तर, छाताको आवश्यकता परेन । अर्थात् केही छिनमै वर्षा रोकियो । हाम्रो यात्रा रोकिएन ।      

जेठपछि यहाँ हाइकिङ गर्दा जुकाले भने केही समस्या दिँदो रैछ । जुका मुख तान्दै आहारको खोजीमा भेटिन्थे । केही जुकाको आहारा पनि भयौं । झण्डै २ किलोमिटरको यात्रा गरेपछि एउटा डाँडा भेटियो । त्यहाँबाट काठमाडौं पनि देखिन्थ्यो । त्यहीँ डाँडामा केही बेर आराम गर्यौं । र, आफूसँग भएको खानेकुरा पनि खायौँ । पानीबाट ओत लाग्न डाँडामा प्रतीक्षालय बनाइएको छ ।

केही बेरको विश्रामपछि फेरि गन्तव्यतिर लाग्यौं । यहाँबाट पुन: उकालो बाटो सुरु हुन्छ । जंगल छिचोल्दै र सिँढी चढ्दै अगाडि गएपछि लेकाली भेगमा पाइने निगालो, खर्सुलगायत बोटबिरुवा देख्न पाइयो । रुखमा बाँदरको वार्तालाप पनि मज्जाले देख्न/सुन्न पाइन्छ । 

निकुञ्जभित्र ध्वाँसे चितुवा, सालक, चरी बाघसहित २२ भन्दा बढी स्तनधारी, ३११ प्रजातिका पंक्षी छन् । साथै, १०२ प्रजातिका पुतलीहरू पनि पाइन्छन् । हामीले चितुवा, सालक नदेखे पनि विभिन्न रंगका पुतली भने प्रशस्तै देख्न पायौं । 

झण्डै तीन घण्टाको उकालो सकेर हामी गन्तव्यमा पुग्दै थियौं । आशा थियो चुचुरोमा पुग्नेवित्तिकै मज्जाले काठमाडौं देख्न पाइनेछ । तर, कुहिरो बाधक बन्यो । यसका बाबजुद पनि हामी खुसी नै थियौं । किनकी जामाचोबाट काठमाडौं मात्र नभएर हेर्नलायक अनेकौं चिज अरू पनि थिए । 

गुम्बा पुगेको आधा घण्टापछि मौसमले केही साथ दियो । काठमाडौं देखिन थाल्यो अनि अलिअलि भएपनि देखिन थाले उत्तरतर्फ सेता लामवद्ध हिमाल । केही बेर गुम्बा वरिपरिको दृश्य हेरेर खाजा खाने निधो गर्यौं । आफूसँग बोकेका र केही त्यहीँ किनेका खानेकुरा खाएर गुम्बाको थप अवलोकनमा निस्कियाैँ । निकै सुन्दर वातावरण, त्यत्तिकै सुन्दर गुम्बा । चार घण्टा उकालो बाटो चढेको पूरा असुल भएको अनुभूति भयो । 

हामीले मात्र होइन यहाँ आइपुगेका सबै फुरुङ्ग थिए । समूहमा आएकाहरू नाचगान गर्दै रमाइलो गरिरहेका थिए । साथै, कोही गुम्बाको दर्शन गर्दै दीप प्रज्वलन गरिरहेका थिए । किंवदन्तीअनुसार काठमाडौं उपत्यका ठूलो ताल–नागदहको रूपमा रहँदा सप्तबुद्धमध्येको पहिलो रूप विपस्वीले जातमात्रा पर्वत वा नेवारीमा जामाचो (नागार्जुन) चुचुरोबाट कमलको बिज विशाल तालमा प्रक्षेपण गर्दा स्वयम्भू उत्पति भएको मानिन्छ । यहाँ प्रत्येक वैशाख पूर्णिमाका दिन ठूलो मेला लाग्ने गर्छ । 

ऐतिहासिक जामाचो गुम्बाको केही तस्बिर खिचेर यहीँ बनाइएको भ्यू टावरमा उक्लियौं । काठ र मलामले बनेको भ्यू टावरमा गएर काठमाडौं र हिमाल हेर्न यहाँका आइपुगेका जोकोही लालायित हुन्छन्/थिए । हामी पनि भ्यू टावरमा चढेर काठमाडौं हेर्ने चाहना पालेका थियौं । र, अलिअलि भए पनि त्यो चाहना पूरा गरेरै छाड्यौँ । भ्यू टावरमा उक्लँदा भने एउटा महसुस गरियो– कतै यो टुट्ने त होइन ।

महसुस गर्नुको कारण थियो– मक्किएको जस्तो देखिन्थे भ्यू टावरमा बिच्छ्याइएको काठका टुक्रा । अलि जोखिम महसुस गरे पनि भ्यू टावरबाट मज्जैले अवलोकन गरियो ।

एक घण्टा जामाचो गुम्बामा बसेर ओरालो झर्यौँ । जाँदा जति अप्ठ्यारो भएको थियो फर्किंदा भने आनन्द आयो । लाग्थ्यो म कतै ठूलो बिल्डिङबाट भुइँमा ओर्लिँदैछु । अधिकांश ठाउँमा सिँढी भएकाले त्यो झल्को दिन्थ्यो । चार किलोमिटरको ओरालो हामीले २ घण्टामा सकायौँ । जामाचोको यात्राबारे साथीहरूबीच छलफल गर्यौं । सबैको निश्कर्ष थियो– छोटो र रोमाञ्चक हाइकिङ ।

  • प्रकाशित मिति : जेठ २४, २०७९ मंगलबार ९:२९:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया