जग्गा र विद्युत् समस्याले रोकियो कर्णालीको औद्योगिकीकरण
फरकधार / २५ जेठ, २०७९
वीरेन्द्रनगरमा सञ्चालनरत सुरक्षा ग्याबिन वायर ईण्डष्ट्रिज प्रालि । तस्बिर : पुनम बिसी/फरकधार

सुर्खेतको वीरेन्द्रनगरमा सञ्चालनरत सुरक्षा ग्याबिन वायर ईण्डष्ट्रिज प्रालिले आफ्नो उत्पादन क्षमता अनुरूप उत्पादन गर्न सकिरहेको छैन । प्रयाप्त स्थान अभावकै कारण उद्योग आफ्नो उत्पादन कटौती गर्न बाध्य छ ।



वीरेन्द्रनगर औद्योगिक क्षेत्र परिसरभित्र करिब साढे तीन रोपनी क्षेत्रफलमा सञ्चालनमा रहेको सुरक्षा ग्याबिन वायरमा ग्याबिन बक्स तथा घेरबारका लागि प्रयोग हुने जाली उत्पादन हुन्छ । तर, उद्योगले माग बमोजिम भने उत्पादन गर्न सकिरहेको छैन ।

सुरक्षा ग्याबिन वायरका सञ्चालक कृष्ण रेग्मीले भने, ‘उद्योगमा उत्पादनले गति लिन सकिरहेको छैन । उपलब्ध जनशक्तिले पनि एकै साथ काम गर्न पाएका छैनन् ।’ हालै मात्र सञ्चालनमा आएको यस कम्पनीमा ३० जनाले रोजगार पाएका थिए । रोजगारीमा महिलाको संख्या बढी थियो । तर, अहिले कम्पनीलाई जनशक्ति कटौती गर्नुपर्ने बाध्यता आइपरेको छ । आधा जनशक्ति कटौती गर्दै कम्पनीले १५ जनालाई मात्र नियमित काममा बोलाएको हो । 



उद्योगमा उत्पादनतर्फ दैनिक ४ हजार २ सयदेखि ४ हजार ८ सय वर्गमिटर जाली उत्पादन भइरहेको छ । यो उत्पादन दैनिक ३ सयदेखि ३५० गोटा जाली हुन आउछ । उत्पादन क्षमता तथा लगानीका आधारमा उद्योगमा दैनिक ५ सय गोटा जाली उत्पादन हुनुपर्ने हो ।



‘उद्योगमा जाली स्टक रहन्छ । मागको आधारमा एकैसाथ जाने हो । फेरि एकैसाथ ३० जनाले जाली बुन्नका लागि प्रयाप्त ठाउँ पनि भएन, त्यसैले आधा जनशक्तिलाई राखेर उद्योग सञ्चालन गरेका छौँ । यसले उत्पादनमा समेत असर परेको छ,’ सञ्चालक रेग्मीले भने ।

सुरक्षा ग्याबिन वायर उद्योग सञ्चालनका लागि उद्योगीहरूको समूहले वीरेन्द्रनगरका अन्य स्थानमा जग्गा नखोजेको पनि होइन । वीरेन्द्रनगरको करेखोला क्षेत्र, वीरेन्द्रनगर–९ को अलायचौर क्षेत्रलगायतका स्थानमा उद्योग सञ्चालनका लागि जग्गा हेरिएको थियो । तर, उक्त स्थानमा उद्योगलाई आवश्यक पर्ने बत्तीको समस्या तथा उद्योग सञ्चानार्थ जग्गामा धेरै लगानी गर्नुपर्ने भएकाले औद्योगिक क्षेत्र नै अन्तिम रोजाई बन्यो । तर, पनि औद्योगिक क्षेत्र परिसरमा जग्गा उपलब्ध हुन सहज भने थिएन । 

पूर्वसञ्चालमा रही जग्गा ओगटिरहेका उद्योगहरू खरिद गर्नुपर्ने कम्पनीलाई बाध्यता पर्‍यो । रेग्मीले भने, ‘हामीले यहाँ औद्योगिक क्षेत्रमा दुईवटा कित्ता प्रयोग गरेका छौ । यसअघि यहाँ सञ्चालनमा रही बिक्री गर्न खोजिरहेका उद्योग हामीले खरिद गरी सुरक्षा ग्याबिन वायर सञ्चालन गरिएको हो ।’

‘थ्री फेज लाइन’ मा ५ सय केभिएको ट्रान्सफर जडान भएकाले पनि उद्योगीलाई औद्योगिक क्षेत्रभित्र उद्योग सञ्चालन गर्न सहज छ । तर, वीरेन्द्रनगरका अन्य स्थानमा बत्तीको आपूर्ति कम भएकाले उद्योगहरू सञ्चालनमा आउन सकेका भने छैनन् ।

सुरक्षा ग्याबिन वायरलाई पूर्ण उत्पादन क्षमताका लागि उद्योग सञ्चालन गर्न ६ रोपनी जग्गा आवश्यक पर्छ । अहिले त्यसको आधा क्षेत्रफलमा रही उद्योग सञ्चालन गरिएको छ । यस्तै, औद्योगिक क्षेत्रभित्र सञ्चालनमा रहेको सुर्खेत डेरी उद्योग प्रालिले पनि मागको आधारमा उत्पादन वृद्धि गर्न नसक्दा समस्यामा परेको छ । 

सञ्चालनको तेस्रो वर्षमा रहेको सुर्खेत डेरी उद्योग प्रालिले हाल दैनिक तीनदेखि ४ हजार लिटर दूध संकलन तथा बिक्रीवितरण गरिरहेको छ । यसका साथै दुग्धजन्य पदार्थहरूको समेत उत्पादन भइरहन्छ । 

उद्योग सेवा तथा उत्पादन विस्तारको योजानमा छ । तर, उसले सोही अनुरूप संरचना तथा क्षमता विस्तारका लागि प्रयाप्त जग्गा भने छैन । ‘दूधबाट बन्ने अन्य उत्पादनहरूको सेवा विस्तारको योजना छ । तर, उद्योगका लागि यहाँ स्थानको अभाव छ,’ उद्योगका सञ्चालक माधव धितालले भने । सुर्खेत डेरी उद्योगलाई क्षमता विस्तारका लागि अझै थप दुई रोपनी जग्गाको आवश्यकता छ ।

बत्ती र जग्गा अभावकै कारण सुर्खेतमा औद्योगिक क्षेत्रबाहेक अन्य स्थानमा उद्योग सञ्चालनका लागि उद्योगी लगानी गर्न उत्साहित छैनन् । साथै, औद्योगिक क्षेत्रमा रहेका उद्योगले पनि प्रयाप्त स्थान नपाएका कारण पूर्ण क्षमतामा उत्पादन गर्न सकेका छैनन् । यस्तो अवस्थाले सुर्खेतलगायत कर्णाली प्रदेशमा औद्योगिकीकरण विकासमा असर परेको देखिन्छ ।

०३८ सालमा स्थापना भएको वीरेन्द्रनगर औद्योगिक क्षेत्रमा हाल २७ उद्योग समावेश छन् । जसमध्ये २१ उद्योग चालू अवस्थामा छन् । दुईवटा उद्योग निर्माणाधीन र चारवटा उद्योग बन्द भएका छन् ।  यो  औद्योगिक क्षेत्र ९० रोपनी क्षेत्रफलमा निर्माण गरिएको छ । अहिले यहाँ नयाँ उद्योग सञ्चालन गर्नु परेमा स्थान पाउन निकै गाह्रो छ ।  

हालको वीरेन्द्रनगर औद्योगिक क्षेत्रसँग उद्योग आबद्धता क्षमतामा कमी भएपछि सरकारले यसको विकल्पको रूपमा अन्य स्थान नखोजेको भने होइन । यसअघि सुर्खेतको चौरासे, साटाखानी, लेकवेशी, खाँडदेवीलगायत ठाउँ औद्योगिक क्षेत्र विकास लागि हेरिएको पनि थियो । संघीय सरकारले यसका लागि अध्ययन पनि गर्यो । तर, यी स्थानहरूमा औद्योगिक क्षेत्र विकासका लागि सम्भव भएन ।   

‘ती स्थानहरूमा औद्योगिक क्षेत्र विकासका लागि धेरै सालका रुख कटान गर्नुपर्ने भएकाले सम्भव भएन,’ वीरेन्द्रनगर औद्योगिक क्षेत्रका प्रमुख जीवनारायण बञ्जाडेले भने । सुर्खेतमा औद्योगिक क्षेत्र विस्तारका लागि विद्युत् र जग्गा नै मुख्य चुनौती रहेको उनको भनाइ छ ।

‘उद्योगहरूका लागि विद्युत् अनियमित तथा कम भोल्टेजको समस्याका कारण सञ्चालनमा रहेका उद्योगहरूले समेत गति लिन सकेका छैनन्,’ बञ्जाडेले भने ।कर्णालीमा औद्योगिक विकासका लागि सरकारले जग्गा प्राप्ति तथा १ सय ३२ केभिए विद्युत् प्रशारण लाइन विस्तारमा ध्यान दिनुपर्ने उनको धारणा छ ।  

  • प्रकाशित मिति : जेठ २५, २०७९ बुधबार ८:५६:०,   अन्तिम अपडेट : जेठ २५, २०७९ बुधबार ८:५६:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया