मधेस प्रदेशमा निर्वाचन क्षेत्र पुनः निर्धारण गर्नुपर्छ : उपेन्द्र यादव
‘लोसपा सरकारमा सहभागी भए स्वागत गर्छौं’

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेस प्रदेशमा निर्वाचन क्षेत्रलाई पुनः निर्धारण गर्नुपर्ने बताएका छन् । बुधबार जनकपुरधाममा प्रेस मञ्च नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अहिलेको निर्वाचन प्रणालीसमेत त्रुटिपूर्ण रहेको बताएका हुन् ।

यादवले समानुपातिक र प्रत्यक्ष दुवै निर्वाचन प्रणाली त्रुटिपूर्ण रहेको दाबी गर्दै गलत प्रणालीका कारण नै निर्वाचन अत्यधिक खर्चिलो रहेको जिकिर गरे । संसदको निर्वाचन क्षेत्र निर्धारण भएको समयमा मधेसको जनसंख्या राष्ट्रिय जनगणनाअनुसार ४६ प्रतिशत रहेको र सोहीअनुसार संघीय निर्वाचन क्षेत्र निर्धारण भएको पनि उनले बताए । 

‘अहिलेको जनगणनाको रिपोर्टअनुसार तराई मधेसको जनसंख्या ५३ प्रतिशत छ । तर, प्रतिनिधिसभाको क्षेत्र त्यही छ जुन ४६ प्रतिशत हुँदा थियो’, यादवले भने, ‘अब ५३ प्रतिशत प्रतिनिधित्व गर्नका लागि त्यसअनुसारको निर्वाचन क्षेत्र हुनुपर्यो । हामीले निर्वाचन क्षेत्रलाई पुनः रिभ्यु गर्नका लागि भनिरहेका छौँ । पहिला रिभ्यु गरौँ त्यसपछि निर्वाचन क्षेत्र निर्धारण गरौँ ।’

विश्वको ७१ वटा मुलुकमा समानुपातिक प्रणालीबाट निर्वाचन भइरहेकाले त्यसमा पार्टीलाई भोट दिने गरेको र जातीवाद, पावरको कुनै स्थान नरहेको भन्दै उनले नेपाल जस्तो गरिब मुलुकमा विकृतीमूलक र महँगो निर्वाचनले आउने दिनमा राजनीतिक सत्ता र शक्ति कहाँ जाने, मुलुक कुन दिशामा जाने, जनताको लोकतन्त्रबाट विश्वास उठ्ने खतरा बढ्दै जानेलगायतका समस्याहरू रहेको उनले बताए । 

अर्को प्रसंगमा अध्यक्ष यादवले वर्तमान पाँच दलीय गठबन्धन कायम नै रहने र प्रदेश तथा संघीय निर्वाचनमा यही गठबन्धनबीच तालमेल हुने बताए । उनले गठबन्धनले लोकतन्त्रलाई संस्थागत गर्न सफल भएको पनि दाबी गरे । 

यादवले प्रधानमन्त्री शेरबहादुर देउवाले लोसपा नेपाललाई पाँच दलीय गठबन्धनमा समावेश गरे जसपाले त्यो निर्णयलाई स्वागत गर्नेसमेत बताए । उनले मधेसको विकासका लागि फुटेर नभई जुटेर अगाडि बढ्न आव्हानसमेत गरे । 



यादवले लोसपालाई एकताका लागि कुनै पनि बेला स्वागत गर्न आफूहरू तयार रहेको पनि बताए । 



  • प्रकाशित मिति : जेठ २५, २०७९ बुधबार ११:१:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया