खर्च बढ्छ भने उपसभामुख पद खारेज गरौं : अमरेशकुमार सिंह

सत्तारुढ दल नेपाली कांग्रेसका सांसद डा. अमरेशकुमार सिंहले उपसभामुख पद खारेज गर्न माग गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद सिंहले उपसभामुख पदका कारण खर्च बढ्छ भने सो पद खारेज गर्दा उपयुक्त हुने तर्कसमेत गरे ।

उनले प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति खारेज गरेर त्यहाँका सदस्यहरूलाई अर्को समितिमा राख्ने व्यवस्था गर्न पनि सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण गराए ।

‘वास्तवमा हामीले कस्तो संसदीय व्यवस्था अगाडि बढाउन खोजिरहेका छौं । यहाँ यदि उपसभामुख चाहिएन भने उपसभामुख पद नै खारेज गरौं । चाहियो भने उपसभामुख नियुक्ती आजसम्म किन भएन? उपसभामुखको कारणले खर्च बढ्छ भने उपसभामुख पद खारेज गरौं । दोस्रो, प्रतिनिधिसभाअन्तर्गतकै राज्य व्यवस्था तथा सुशासन समिति छ । त्यो पनि चाहिएन भने त्यसलाई पनि खारेज गरौं । त्यहाँ रहनुभएका सांसदहरूलाई अर्को समितिमा पठाउन पनि म सभामुखजीलाई आग्रह गर्दछु । यी दुईटाको औचित्य र आवश्यक छैन भने किन राख्ने? उपसभामुख पद पनि हटाऔँ । राज्य व्यवस्था समिति पनि हटाऔँ । किनकी सरकारलाई त यी समितिहरू चाहिँदै चाहिँदैन,’ सांसद सिंहले भने ।

उनले बागमती नदीको कटानका कारण सर्लाहीको बरहथवा–१ को बस्ती जोखिममा परेको भन्दै त्यसको सुरक्षाका लागि तत्काल तटबन्ध निर्माण गर्न सरकारको ध्यानाकर्षण पनि गराए । 





  • प्रकाशित मिति : जेठ २५, २०७९ बुधबार १३:१९:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया