अतिवादी समूह अल–कायदा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)का सदस्यहरूले गरेको विवादास्पद टिप्पणीका कारण भारतका गुजरात, उत्तर प्रदेश, मुम्बई र दिल्लीमा आतंककारी हमला गर्ने धम्की दिएको छ ।
पैगम्बरको अपमान गरेको भन्दै भारतीय उपमहाद्वीपमा अल–कायदा (एक्युआइएस) समूहले यस्तो धम्की दिएको हो ।
६ जुनमा लेखिएको पत्रमा एक्युआइएसले ‘पैगम्बरको सम्मानको लागि लड्न’ आत्मघाती हमला गर्ने जनाएको छ । ‘अपमानको प्रतिक्रियास्वरूप विश्वभरका मुस्लिमहरूको हृदयको रगत बगेको र बदला तथा प्रतिशोधको भावना भरिएको उल्लेख छ ।
१० दिनअघि भारतको समाचार च्यानल टाइम्स नाउ १ मा भएको एउटा टेलिभिजन बहसमा भाजपा प्रवक्ता नुपुर शर्माले पैगम्बर मोहम्मद बारेमा अपमानजनक टिप्पणी गरेकी थिइन् । बहसमा उनले मुस्लिम प्रतिद्वन्द्वीलाई मजाक गरेकी थिइन् ।
उनको टिप्पणीलाई लिएर आक्रोश बढिरहेका बेला भाजपाका अर्का नेता नवीनकुमार जिन्दलले पैगम्बरबारे विवादास्पद ट्विट गरेका थिए । विरोधपछि उक्त ट्विट उनले हटाएका थिए ।
सोही विषयलाई लिएर भाजपाले प्रवक्ता शर्मालाई निलम्बन गरेको छ भने जिन्दललाई पार्टीबाट निष्कासन गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।