खप्तडमा तीन वर्षपछि गंगा–दशहरा मेला

सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्या–पर्यटकीयस्थल खप्तडमा तीन वर्षपछि यसवर्ष गंगा–दशहरा मेला लागेको छ । कहिल्यै नरोकिएको यो मेला कोभिड १९ को प्रभावले दुई वर्ष ठप्प भएको थियो । मेला रोकिए पनि सीमित व्यक्तिहरुको उपस्थितिमा नियमित पूजाआजा भने निरन्तर हुँदै आएको थियो ।

यसवर्ष जनजीवन सामान्य अवस्थामा पुगेपछि खप्तडमा यो मेला सुरु भएको हो । यसवर्ष परम्पराअनुसार नै मेला हुनेछ । खप्तडमा हरेक वर्ष जेष्ठ शुक्ल पक्ष दशमीमा ‘गंगा–दशहरा’ मेला लाग्ने परम्परा छ । सोही परम्पराअनुसार बुधबार खप्तडमा मेला लाग्छ । आज रातभर मेला लागेपछि भोलि (बिहीबार) बिहान त्रिवेणीमा गएर नुहाउने प्रचलन रहेको छ ।  बुधबार विभिन्न खेलकुद प्रतियोगितासमेत सम्पन्न भएका छन् ।

परापूर्व कालदेखि यहाँ बाजुरा, अछाम, बझाङ र डोटीका बासिन्दाले मेला भर्दै आएका छन् । पछिल्लो समय प्रचारप्रसार व्यापक बनेसँगै यहाँ समग्र सुदूरपश्चिम प्रदेश र देशभरका हिन्दू धर्मावलम्बीहरू त्यहाँ पुग्ने गरेका छन् । यसकारण खप्तड गंगा–दशहरा मेलालाई पछिल्लो समय ठूलोमध्ये एक धार्मिक मेलाका रुपमा लिन थालिएको छ ।

कोरोनाले २ वर्ष रोकिएको खप्तड गंगा–दशहरा मेला यस वर्ष सुरु भएपछि धार्मिक आस्था बोक्नेहरू उत्साहित भएका छन् । दुई वर्ष हुन नसकेको मेला तेस्रो वर्ष उत्साहजनक हुने अपेक्षा बाजुराबाट मेला भर्न आएका दीर्घ शाहीले बताए । यस वर्ष मौसमले पनि साथ दिएपछि रमाइलो हुने उनको अपेक्षा छ ।

उनले विगतभन्दा यसवर्ष खप्तडमा उल्लेख्य भिड लागिरहेको जानकारी दिए । प्राकृतिक रुपले निकै सुन्दर र मनमोहक खप्तड धार्मिक हिसाबले महत्वपूर्ण तीर्थस्थल हो । मध्यपहाडी क्षेत्रको निकै उचाइमा रहेको खप्तडमा देवदेवीहरूको बास रहँदै आएको जानकारहरूको दाबी छ । यहाँ अत्याधिक चिसो हुने गर्दछ ।

समुद्री सतहदेखि करिब तीन हजार दुई सय मिटरमाथि तीनवटा नदीको संगम बनेको त्रिवेणी छ । सहस्रलिंगबाट बगेर आउने सोलिङ खोला (गंगा), डाँफेकोटबाट बगेर आउने डाँफेकोट खोला (यमुना) र प्राचीन धर्मशाला मुन्तिरबाट गुप्त बगेर आउने सरस्वती नदीको संगम छ ।



यही त्रिवेणीधाममा मनकामना मन्दिर छ । जसमा गणेश, अन्नपूर्ण, शिवशंकर र वसाहका मूर्ति छन् । स्कन्द पुराणको मानसखण्डमा पाण्डवहरुले कुरुक्षेत्रमा मारिएका आफ्ना सम्पूर्ण मृतात्माको शान्तिका लागि यही ठाउँमा तर्पण गरेको उल्लेख छ । सोहीअनुसार यस क्षेत्रका बासिन्दा यहाँ आफ्ना पितृको तर्पण गर्दछन् ।

गंगा–दशहरा मेला धार्मिक आस्था बोक्नेहरूका लागि निकै महत्वपूर्ण मानिन्छ, जुन जेठमै पर्छ । यो मेला आस्तिकहरूका लागि जति महत्वपूर्ण छ, त्यत्तिकै खप्तड घुम्न चाहनेका लागि वैशाख–जेठ महिना उत्तम मौसम मानिन्छ ।



  • प्रकाशित मिति : जेठ २५, २०७९ बुधबार २१:१८:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया