पूर्वराष्ट्रपति भन्छन्– तत्काल पुरानो पेसामा फर्कन सक्दिनँ, अस्पताल गएँ भने पनि त्यो प्रचारका लागि हुनेछ
उमेर, रोग र पछिल्ला समय भित्रिएका नयाँ प्रविधिले गर्दा पुरानो पेसामा फर्कन नसक्ने

दाङ– पूर्वराष्ट्रपति डा. रामवरण यादवले आफू पहिलेजस्तै काममा फर्कन सम्भव नहुने बताएका छन् । बिहीबार दाङको टरिगाउँ एयरपोर्टमा पत्रकारसँग कुरा गर्दै पूर्वराष्ट्रपति यादवले अब आफू अस्पताल जानुपरे त्यो प्रचारको लागि मात्रै हुने बताए ।

पत्रकारसँगको कुराकानीमा उनले भने, ‘यदि म अस्पताल गएछु भने त्यो केवल प्रचार र मेरो टाइमपासका लागि मात्रै हुनेछ ।’ आफ्नो उमेर, रोग र पछिल्ला समय भित्रिएका नयाँ प्रविधिले गर्दा आफू पुरानो पेसामा फर्कन नसक्ने उनले प्रस्ट्याए । 

उमेरले ७० वर्ष लागेको तथा क्यान्सर उपचार गराएर लाभ लिइरहेको अवस्थामा पहिलेजस्तो सक्रियतापूर्वक चिकित्सकीय पेसामा फर्कन आफू सक्षम नरहेको पूर्वराष्ट्रपतिको प्रस्टोक्ति छ । झन्डै अढाई वर्षघि क्यान्सरको उपचार गरी स्वास्थ्यलाभ लिए पनि तीन वर्षपछि मात्रै त्यसको पूर्ण अन्त्य हुने बताउँदै पूर्वराष्ट्रपति यादवले आफू अझै फलोअपमा रहेको र पेटको समेत रोगी भएकाले अस्पताल गए पनि एक–डेढ घन्टाको लागि मात्रै जान सक्ने बताए । 

तर, त्यसपछि पनि आफू नाफामूलक अस्पतालमा भने नजाने उनको स्पष्टोक्ति छ । ‘मेरो एउटा सीमा छ, म प्रोफिट मेकिङ अस्पतालमा जान्न, यदि गएछु भने सरकारी अस्पतालमै जानेछु,’ उनले भने । पूर्वराष्ट्रपति डा. यादवले काठमाडौंमा भए वीर र टिचिङमा, मोफसलमा भए गृहजिल्ला जनकपुरमा जान सक्ने संकेत गरे ।

आफू नेपाली कांग्रेसबाट ट्रेन्ड भएको, बिपी, गणेशमान, महेन्द्रनारायण निधि र कृष्णप्रसाद भट्टराईको फिजिसयन डाक्टर भएर काम गरेको स्मरण गर्दै डा. यादवले कांग्रेसबाटै प्रथम राष्ट्रपति हुने सौभाग्य मिलेको भए पनि बिपी, गणेशमानका नामबाट खोलिएका अस्पतालमा नजाने स्पष्ट पारे ।

कुराकानीका क्रममा देशका प्रथम राष्ट्रपति यादवले वातावरणीय पक्षमा काम गर्न पनि आफ्नो रुचि रहेको बताए । हिमाल, पहाड र तराईको वन जंगल तथा वातावरण कसरी जोगाउन सकिन्छ भन्नेबारे आफूलाई बढी चिन्ता लाग्ने गरेको बताउँदै उनले समिाजिक सद्भावलाई कसरी जोड्ने, क्षेत्रीय र जातीय सद्भाव कसरी दिगो राख्ने तथा राष्ट्रिय एकतालाई कसरी बलियो बनाउने भन्ने चिन्ता रहेको सुनाए । 



पूर्वराष्ट्रपति यादव घोराहीस्थित एउटा निजी विद्यालयको शुक्रबार हुने रजत जयन्ती समारोहमा सहभागी हुने कार्यक्रमसहित बिहीबार दाङ आएका हुन् । 



  • प्रकाशित मिति : पुस २६, २०७५ बिहीबार २१:४२:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया