यसवर्ष औसतभन्दा धेरै वर्षा हुने
फरकधार / २६ जेठ, २०७९

मौसमविद्हरुले यसवर्ष औसतभन्दा धेरै वर्षा हुने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । जल तथा मौसम विज्ञान विभागले यसअघि नै यस वर्ष सरदर भन्दा बढी वर्षा हुनसक्ने पूर्वानुमान गरेको छ । 



यस वर्षको मनसुनजन्य विपद् बाट देशभर १७ लाख मानिस प्रभावित हुनसक्ने विज्ञहरुले बताइरहेका छन् । यस वर्ष नेपालमा १ हप्ताअघि नै पूर्वी भेगबाट मनसुन भित्रिएको छ । जसकारण मौसम विज्ञ, सांसद, सरोकारवाला निकायले सरकारको यस बारेमा पूर्व तयारीका लागि ध्यानाकर्षण गराइरहेका छन् । 

यस वर्ष प्रदेश १ को हिमाली भूभाग बाहेकका स्थान र काठमाडौंबाट पश्चिमका क्षेत्रमा अत्याधिक वर्षा हुने मौसमविद् हरुको आँकलन छ । त्यस्तै प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुले यस वर्षको मनसुनमा विपद् व्यवस्थापन र पूर्व तयारीको काममा अहिलेदेखि नै ध्यान पुर्याउन सरकारलाई आग्रह गरेका छन् । 



नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले प्राकृतिक प्रकोपबाट निम्तिने विपद् हरुको व्यवस्थापनका लागि सरकारले अहिलेदेखि नै ध्यान पुर्याउनुपर्ने बताइन् । उनले बाढी प्रभावित क्षेत्रमा भएको बसोवासलाई अन्यत्र सारेर बेलैमा व्यवस्थापन गर्नुपर्ने बताइन् । 



सचेतक भुसालले विगतका घटनाहरुबाट पाठ सिकेर सरकारले विपद् व्यवस्थापनका लागि बजेट छुट्याउनुपर्ने बताउँदै सरकारले प्रभावकारी योजना र कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिइन् । उनले भनिन् – ‘सरकारले बाढी आउने ठाउँमा बसोबास गरेकाहरूलाई अन्यन्त्र सारेर भएपनि व्यवस्थापन गर्नुपर्ने हुन्छ । त्यस्तै खेती, बालिलाई नोक्सान हुन नदिनका लागि पनि सरकारले विभिन्न किसिमका राहतका कार्यक्रमहरु किसान समक्ष पुर्याउनुपर्ने अवस्था पनि हुन्छ । कतिपय पहिरोले घरहरु पुरिएर विस्थापित हुनुपर्ने अवस्थाहरु छ । त्यसको तथ्यांकहरु र विगतको घटनाहरूलाई लिँदै आएर त्यो घटनाहरु फेरि नदोहोरियोस् भन्नका लागि सरकारले विशेष रुपबाट बजेटबाट र विभिन्न कार्यक्रम र योजना ल्याउनु पर्छ ।’ 

  • प्रकाशित मिति : जेठ २६, २०७९ बिहीबार १५:७:१९,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया