जिसस मकवानपुर निर्वाचन : असार २ भित्र हुने, नेतृत्वमा कांग्रेसको दाबी

स्थानीय तहको निर्वाचन सकिएपछि अब जिल्ला समन्वय समिति सदस्यको लागि मकवानपुरमा निर्वाचनको तयारी सुरु हुँदै छ । जिससको निर्वाचनको तयारी अगाडि बढिरहेको समयमा जिससमा आफ्नो पार्टीको नेतृत्व हुनुपर्ने भन्दै राजनीतिक दलहरुले दाबी गर्न थालेका छन् । 

धेरै सिट जितेको कांग्रेसले मकवानपुरमा जिससको नेतृत्वमा दाबी गरेको छ । सत्तारुढ राजनीतिक दलहरुको गठबन्धनबाट स्थानीय तहको निर्वाचनमा होमिएको नेपाली कांग्रेसले अब जिसस पनि आफ्नै नेतृत्वमा हुनुपर्ने बताएको छ । 

नेपाली कांग्रेस मकवानपुर जिल्ला पार्टी सभापति बुद्ध लामाले हेटौंडामा पत्रकार सम्मेलनका क्रममा आफ्नो भनाइ राख्दैै मकवानपुरमा कांग्रेस सबैभन्दा ठूलो दल भएकोले आफूहरूले जिल्ला समन्वयमा आफ्नो दाबी रहेको बताए । स्थानीय तह सदस्य निर्वाचनमा १० स्थानीय तहमध्ये थाहा नगरपालिका र हेटौंडा उपमहानगरपालिकाको नेतृत्व माओवादी केन्द्र र एकीकृत समाजवादीलाई दिएका कारण पनि जिल्लाको नेतृत्व दाबी गर्ने अधिकार कांग्रेससँग रहको लामाले बताए ।

उनले जिल्ला समन्वय समितिको निर्वाचनमा कांग्रेसकै नेतृत्वमा अघि बढ्ने गरी गठबन्धन दलहरुबीच छलफल भइरहेको समेत बताए । जिल्ला समन्वय समितिको निर्वाचनमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका र ८ वटा गाउँपालिकाका प्रमुख र उपप्रमुख गरी कूल २० जनाले मतदान गर्न पाउँनेछन् । 

नेपाली कांग्रेसका ९ जना, नेकपा माओवादी केन्द्रमा ७ जना, नेकपा एमालेका ३ जना र नेकपा एकीकृत समाजवादीको १ जना मतदाता रहेका छन् । स्थानीय तहको मतपरिणामको आधारमा पनि नेपाली कांग्रेसको जिल्लामा बहुमत रहेको प्रस्ट छ । 

निर्वाचनका लागि समिति गठन



त्यसो त जिल्ला समन्वय समिति मकवानपुरमा ९ सदस्यीय समिति बनाउने जनप्रतिनिधिहरुले निर्णय गरेको छन् । जिल्ला समन्वय समिति मकवानपुरको सदस्य संख्या निर्धारण गर्ने सन्दर्भमा बुधबार भएको सातौँ विशेष जिल्ला सभाले नौ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो । 

संविधानको धारा २२० मा जिल्ला सभा र जिल्ला समन्वय समितिको व्यवस्था’ उल्लेख गरिएको छ । जिल्लाभित्रका गाउँपालिका र नगरपालिकाहरूका बीचमा समन्वय गर्न एक जिल्ला सभा रहने व्यवस्था छ । 



जिल्ला सभामा एकजना प्रमुख एकजना उपप्रमुख, कम्तीमा तीनजना महिला र कम्तीमा एकजना दलित वा अल्पसंख्यकसहित बढीमा नौजना सदस्य रहेको जिल्ला समन्वय समितिको निर्वाचन गर्ने व्यवस्था रहेको छ । 

यसरी उम्मेदवार हुने व्यक्ति पालिका सदस्य हुनुपर्नेछ । जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख वा सदस्य पदमा निर्वाचित भएका त्यस्तो व्यक्तिको गाउँसभा वा नगरसभाको सदस्य पद स्वतः रिक्त हुने संविधानमा उल्लेख गरिएको छ । 

२ असारसम्ममा निर्वाचन गर्ने तयारी

जिससको निर्वाचनको लागि जिल्ला निर्वाचन अधिकृतको कार्यालयले मिति तोकेपछि सोही दिनमा निर्वाचन हुनेछ । जिल्ला निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले निर्वाचनको मिति तोकिनसकिएको, तर असार २ गतेभित्र गर्ने भन्ने तयारी रहेको बताए । उनले भने, ‘मिति तोकिएको त छैन । समिति बनाएर बैठक भर्खरै मात्रै सम्पन्न भएको छ । अब सल्लाह गरेर निर्णय गर्नेछौँ ।’ 

उनका अनुसार समितिको पत्रअनुसार मिति तय गरिनेछ । २ गते नसकिए पनि ढिलोमा असारको पहिलो हप्तासम्ममा जिसस निर्वाचन सकाउने तयारीमा निर्वाचन कार्यालय जुटेको मुख्य निर्वाचन अधिकृत श्रेष्ठले बताए । 
 

  • प्रकाशित मिति : जेठ २६, २०७९ बिहीबार १७:४४:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया