प्रधानमन्त्री र प्रधानसेनापतिको अमेरिका भ्रमण रद्द गर्न माओवादीको माग
एमसिसी अगाडि बढाइए नेपाल दोस्रो युक्रेन बन्न सक्ने चेतावनी

नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले अहिले प्रधानमन्त्री र प्रधानसेनापतिको अमेरिका भ्रमण उपयुक्त नहुने बताएका छन् । 

बिहीबार संसदमा जारी बजेटमाथि छलफलमा भाग लिँदै गुरुङले अहिले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै  प्रधानमन्त्री र प्रधानसेनापतिको अमेरिका भ्रमण स्थगित गर्न माग गरे ।

प्रधानसेनापति र प्रधानमन्त्रीको भ्रमण उपयुक्त नहुने बताउँदै ​गर्दै उनले भने, ‘राष्ट्रिय सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर भिजिट स्थगित गर्न आग्रह गर्दछु।’

हिले अत्यन्तै संवेदनशील अवस्था रहेको बताउँदै उनले भने, ‘अहिलेको परराष्ट्र नीति सैन्य नीतिमा गइरहेको छ। हामीले शान्तिपूर्ण नीतिमा जानुपर्नेछ,’ उनले भने।

एसपिपी सम्झौतामा अमेरिकाले दबाब दिइरहेको भन्दै नेता गुरुङले कुनै पनि सम्झौता गर्दा सर्वपक्षीय र राष्ट्रिय सहमतिबाट मात्र अगाडि बढ्नुपर्नेमा जोड दिए।  

अमेरिकाले नेतृत्व गरेका सबै समूह र सम्झौता फौजी रणनीतिअनुसार गइरहेकाले नेपाल जोगिनुपर्ने उनको भनाइ थियो। ‘नेपाल शान्तिको नीतिमा जानुपर्छ। नेपालको सुरक्षा रणनीति र राष्ट्रिय सुरक्षालाई रक्षा मन्त्रालयले ध्यानमा राख्नुपर्ने छ। शान्तिलाई केन्द्रमा राखेर रक्षा र सैन्य कुटनीति सञ्चालन गर्नुपर्छ,’ उनले भने।  



उनले अमेरिकी प्रतिबद्धताविना एमसिसी अगाडि बढाइए संसदको अवमूल्यन हुने र नेपाल दोस्रो युक्रेन बन्न सक्ने चेतावनीसमेत दिएका थिए।

नेता गुरुङले एमसिसी सम्झौतामा भएको व्याख्यात्मक घोषणा अमेरिकाले स्वीकारेको हो कि होइन ? भनेर प्रश्न गरे। १२ बुँदे घोषणामा अझै अमेरिकाबाट जवाफ नआएको भन्दै उनले सोधे, ‘१२ बुँदे प्रस्ताव अमेरिकालाई स्वीकार्य हो कि हैन ? यसमा लिखित प्रतिबद्धता आएन भने यो कार्यान्वयनमा जान सक्दैन।’



  • प्रकाशित मिति : जेठ २६, २०७९ बिहीबार २०:५:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया