मकवानपुर गोल्डकप : सेमिफाइनल समीकरण पूरा

मकवानपुर फुटबल संघको आयोजनामा हेटौंडामा सञ्चालन भइरहेको मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । बिहीबार भएको खेलमा घरेलु टोली विजय युथ क्लब र विदेशी टोली क्यामरुनको एभिनियर एफसी विजयी भएसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको हो ।

बिहीबार बिहान भएको खेलमा विजय युथले नवजनजागृति युवा क्लबलाई ३–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । बुधबार दिउँसो वर्षाको कारण स्थगित भएको विजय युथ र सिमराको खेल बिहीबार बिहान खेलाइएको हो । 

विजय युथका लागि अमिर श्रेष्ठ, सञ्जोग राई र सुनिल घलानले समान १–१ गो गरे । सिमराका डिफेण्डरले विजय युथका अमिर श्रेष्ठलाई लडाएपछि प्राप्त पेनाल्टीलाई श्रेष्ठले सदुपयोग गर्न सकेनन् । खेलको म्यान अफ द म्याच विजय युथका सुनिल घलान भए । उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे ।

त्यसैगरी, बिहीबार दिउँसो भएको खेलमा क्यामरुनको एभिनियर एफसीले ए डिभिजन टोली चर्च ब्वाइजलाई ४–० ले हराएको हो । चारै गोल पहिलो हाफमा भएको थियो । एभिनियरका लागि बिल्ले, टिम्बा टिम्बा, एब्डेल र सेम सेम समान १–१ गोल गरेका थिए । दोस्रो हाफमा भने चर्च ब्वाइजले सम्हालिएर खेल्दै सुधारिएको खेल प्रस्तुत गरेका थिए ।

यसअघि भएको क्वाटरफाइनल खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल एपिएफ क्लबलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ भने नेपाल पुलिस क्लबले मनाङ मर्स्याङ्दी क्लबलाई १–० गोल अन्तरले हराउँदै सेमिफाइन प्रवेश गरेको हो । 

शुक्रबारबाट सेमिफाइनल खेल हुनेछ । पहिलो सेमिफाइनल खेल विजय युथ र नेपाल पुलिस क्लबबीच हुनेछ भने शनिबार दोस्रो सेमीफाइनल आर्मी र एभिनियर एफसी बीचमा हुनेछ ।



३० गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइकल तथा विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही २५ हजार रुपैयाँसहित ट्रफी पाउनेछन् ।



  • प्रकाशित मिति : जेठ २६, २०७९ बिहीबार २२:९:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया