ओमानसँग कहाँ-कहाँ चुक्यो नेपाल ? यी हुन् हारका मुख्य तीन कारण

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत शुक्रबार बिहान सम्पन्न खेलमा ओमानविरुद्ध नेपालले १३ रनको पराजय बेहोर्‍यो । अमेरिकाको ह्युटनस्थित मोसा क्रिकेट मैदानमा २११ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले ४९.४ ओभरमा सबै विकेट गुमाउँदै १९८ रन मात्र बनाउन सक्यो । 

नेपालका लागि तल्लोक्रमका ब्याटर आरिफ शेखले ७९ बलमा ६ चौकासहित ६६ सर्वाधिक रनको योगदान दिए । बाँकी ब्याटरले सन्तोषजनक प्रदर्शन गर्न सकेनन् । बलरले ओमानलाई सामान्य योगफलमै रोके पनि परम्परागत समस्याको रूपमा रहेको ब्याटिङ समस्या दोहरिँदा नेपाल पराजित हुन पुग्यो ।  

ओमानसँग नेपाल हार्नुको मुख्य तीन कारण 

डेथ ओभरमा कमजोर फिल्डिङ र बलिङ

खेल जित्नका लागि ब्यािटङ/बलिङ र फिल्डिङ तिनै पक्ष मजबुद हुनुपर्छ । तर, ओमानविरुद्ध डेथ ओभरमा नेपालले निकै कमजोर फिल्डिङ र बलिङ गर्‍यो । 

नेपालको यो कमजोरीको फाइदा उठाउँदै ओमानले अन्तिम १० ओभरमा तीन विकेट गुमाउँदै ६९ रन जोड्न सफल भयो । लगातार कमजोर फिल्डिङ गर्दा ओमानले बाउन्ड्रीको फाइदा उठाएको थियो ।  



अर्कोतर्फ डेथ ओभरमा नेपालको बलिङ कमजोर रह्यो । डेथ ओभरअघि पाँच ओभरमा ६ रन खर्चेका सन्दीपले पछि पाँच ओभरमा ३८ रन दिए । डेथ ओभर स्पेलिस्ट बलर नहुनु पनि नेपाल हार्नुको कारण बन्न पुग्यो । 

अत्यधिक डट बल



ओमानविरुद्धको खेल एकदिवसीय भएपनि नेपाली ब्याटरको खेल्ने शैली भने टेस्ट क्रिकेटको जस्तो देखियो । उनीहरूले लगातार डट बल खेले । जति बढी डट बल हुन्छ त्यति नै दबाब थपिँदै जान्छ, जसले गर्दा विस्तारै नेट रन रेट पनि बढ्दै जान्छ । 

डट बलको दबाबलाई थाम्न नसक्दा नेपालले लगातार विकेट गुमाउन पुग्यो ।  एकदिवसीय अन्तर्राष्‍ट्रियमा रनअन बल हुनुपर्छ । बाउन्ड्री प्रहार गर्न नसके डबल वा सिंगल रनले नै त्यसलाई कभर गर्न सक्नु पर्छ । 

ओमानविरुद्धको खेलमा मध्यम लक्ष्य प्राप्त गरेको हुँदा नेपाली ब्याटरलाई बाउन्ड्रीको जोखिम लिनुपर्ने अवस्था थिएन । तर, नेपाली ब्याटरले अत्यधिक डट बल खेले । ओपनर सुनिल धमलाले ३८ बल खेल्दै १२ रन बनाए । देव खनालले ५३ बलमा ३४ रन जोडे ।

दीपेन्द्रसिंह ऐरीले ३० बलमा १६ रन र विनोद भण्डारीले ४६ बलमा १४ रन बनाए । यही डट बलको कारण अन्तिम पाँच ओभरमा नेपालको आवश्यक रन बढेर प्रतिओभर १० माथि पुगेको थियो । जसले गर्दा तल्लो क्रमका ब्याटरलाई धेरै दबाब थपियो । 

नेपालले खेलेको २९८ मध्ये १६२ बल डट थियो । नेपालले कम डट बल खेलेको भएमा यो खेल ३५ देखि ४० ओभरभित्रै जित्न सक्थ्यो । अत्यधिक डट बल नै नेपाल हार्नुको मुख्य कारणमध्ये एक रह्यो ।  

खराब ब्याटिङ

नेपाल हार्नुको प्रमुख कारण भनेकै खराब ब्याटिङ हो । एकदिवसीय अन्तर्राष्‍ट्रियमा २१२ रनको लक्ष्य खासै ठूलो मानिँदैन । तर, नेपाली ब्याटरले त्यसलाई पनि पूरा गर्न सकेनन् । 

लक्ष्य सानो वा ठूलो होस् त्यसलाई पूरा गर्न ब्याटरले रन बनाउनै पर्छ । आरिफ शेखबाहेकका सबै ब्याटरले खराब प्रदर्शन गरे । उनीहरूले लगातार डट बल खेल्दै आफ्नो विकेट दिए । नेपालले राम्रोसँग ब्याटिङ गर्न सकेको भए यो लक्ष्य सहजै पूरा गर्न सक्थ्यो । 

ओमानविरुद्धको खेल भएको मोसा मैदान ब्याटिङमैत्री छैन भन्ने अवस्था नै थिएन किनकि अघिल्लो दिन यही मैदानमा अमेरिकाले ओमानविरुद्ध ३२३ रन बनाएको थियो । 

यो खेलमा पिच र बलरलाई दोष दिन मिल्दैन । नेपाल र ओमानका दुवै टोलीका ब्याटरले खराब प्रदर्शन गरे । विशेषगरी नेपाली ब्याटरले समय र परिस्थितिअनुसार खेल्न सकेनन् ।

नेपालले लक्ष्य पाछ्याएको हुँदा त्यहीअनुसारको योजना बनाएर खेल्नुपर्ने थियो । तर, त्यसमा टिम सफल हुन सकेन । 

  • प्रकाशित मिति : जेठ २७, २०७९ शुक्रबार १२:१७:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया