शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले काठमाडौंको फोहोर व्यवस्थापनको लागि ठूला ल्यान्डफिल साइटको विकल्पमा साना व्यवस्थापन केन्द्र खोज्नुपर्ने बताएकी छन् । शुक्रबार शहरी विकास मन्त्रालयमा बञ्चरेडाँडावासीसँग भएको छलफलमा मन्त्री झाँक्रीले यस्तो बताएकी हुन् ।
मन्त्री झाँक्रीले ठूला ल्याण्डफिल साइटहरू बन्न समय लाग्ने र बन्न पनि नसकेको भन्दै त्यसको विकल्पको रूपमा स–साना फोहोर, ढल व्यवस्थापन केन्द्र खोज्नुपर्ने बताइन् । उनले आजबाट काठमाडौं उपत्यकाको फोहोर उठान सम्बन्धित निकायहरूलाई अनुरोध पनि गरिन् ।
शुक्रबार बिहान सिसडोलवासीसँग शहरी विकासमन्त्री, प्रधानमन्त्री कार्यालयका सचिवलगायत अन्य मन्त्रालयका सचिव, काठमाडौं, ललितपुर महानगरका मेयर ककनी गाउँपालिकाका अध्यक्ष, धुनिबेसी नगरपालिकाका प्रमुख र सम्बन्धित जिल्लाका जनप्रतिनिधिहरूसहितको वार्ता टोलीले फोहोर उठाउने सहमति गरेको छ । छलफलमा बोल्दै मन्त्री झाँक्रीले तत्कालको समस्या समाधान गर्न सम्झौता गर्ने र त्यसपछि फर्किएर नजाने प्रवृत्तिका कारण यो समस्या सिर्जना भएको बताइन् ।
‘हामीले फोहोरमैला व्यवस्थापनको कामलाई अघि बढाऔँ । सिसडोलमा कहाँ चुक्यौँ र बञ्चरे डाँडामा त्यो गल्ती दोहोर्याउने छैनौँ भन्ने कुरा निर्माण कार्यबाट नै कमिटमेण्ट छ । फोहोर फाल्ने स्ट्याण्डर फलो गरेनौँ भने हुँदैन । यसको अनुगमन, नियमन, कडाई गर्ने काम गर्नेछौँ । तर स्थानीय तहको सपोर्ट हामीलाई चाहिएको छ । सपोर्टको लागि अनुरोध गर्न चाहन्छु । मिडियामा बनाएका धारणाबाट बाहिर निस्किएर काम गरौँ । फागुन २६ कै कार्यदिशामा टेकेर हामी योजना बनाउँछौँ र त्यसमा चुक्दैनौँ । फोहोर आजबाट नै उठाऔँ,’ मन्त्री झाँक्रीले भनिन् ।
काठमाडौंको फोहोर व्यवस्थापनका लागि स्थानीयवासीसँग सरकारले शुक्रबार राति १८ बुँदे सहमति गरेको थियो । स्थानीयवासीले विभिन्न माग राख्दै बञ्चरेडाँडामा फोहोर विसर्जन गर्न नदिँदा केही हप्तायता काठमाडौंको फोहोर सडकमै थुप्रिएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।