उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा)मा एक महिनाका बीचमा चारवटा ‘हातपात’देखि ‘दुर्व्यवहार’का घटना भएका छन् । बिहीबार स्थानीय विकासमन्त्री राजेन्द्र श्रेष्ठलाई कार्यकक्षमा नै सोही पार्टीका सांसद रामबाबु यादवले गरेको ‘दुर्व्यवहार’को घटनादेखि एक महिनाका बीचमा चारवटा घटना भएका छन् ।
‘मन्त्रीज्यूलाई मैले योजना दिएको थिएँ, किन पारिदिनुभएन भनेर त्यही विषयमा चर्काचर्की भएको हो, अरु केही भएको होइन,’ सांसद रामबाबु यादवले भने । सांसद यादवले सो भने पनि मन्त्रालयमा ‘लफडाबाजी’ भएपछि मन्त्री श्रेष्ठले बारा–३ मा झोलुंगे पुल, साना सिँचाइ आयोजना र साना कल्भर्ट बनाउने प्रतिबद्धता जनाएका थिए ।
‘तीन दिनभित्र मेरो मागअनुसारका आयोजनालाई समावेश गर्ने मन्त्रीज्यूले भन्नुभएको छ, हुन्छ कि हुँदैन ? म प्रतीक्षा गरिरहेको छु,’ यादवले भने । यो घटनासँगै जसपा नेपालमा यसअघि पनि तीनपटक ‘कुटपिट’सम्मका घटना भएका छन् । जसका बारेमा जसपा नेपालमा छानबिन भइरहेको नेताहरूले बताएका छन् ।
गत २५ जेठमा अध्यक्ष उपेन्द्र यादव उपस्थित कार्यक्रममा सम्बोधन गर्दै गर्दा सबैला नगरका अध्यक्ष वैद्यनाथ रायलाई मुक्का प्रहार गरेका थिए । उनले केन्द्रीय सदस्य साधु रायले अन्तर्घात गरेको अभिव्यक्ति दिएलगत्तै साधुका समर्थकले मुक्का प्रहार गरेका हुन् । सो क्रममा जितेन्द्र मुखिया, अवधकिशोर यादव र सिकिन्दर सिंहलगायतलाई सामान्य चोट लागेको थियो ।
स्थानीय तहको निर्वाचनमा टिकट वितरणमा गत ११ वैशाखमा होटल राजदरबार, जनकपुरमा बसेको बैठकमा केन्द्रीय कार्यकारिणी सदस्य गजाधार रोहिता यादवलगायत घाइते भएका थिए । गणेशमान चारनाथ नगरपालिकाका निवर्तमान मेयर रामबाबु यादवलाई टिकट नदिने बताएपछि उनका आक्रोशित समर्थकले हातपात गर्दा १० जना घाइते भएका थिए ।
सो बैठकमा भौतिक पूर्वाधारमन्त्री रेणु यादव र प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री शैलेन्द्र साहलगायतसमेत उपस्थित थिए । बैठकमा हातपात भएपछि मन्त्रीद्वय बाहिरिएका थिए ।
यसैबीच केन्द्रीय कार्यकारिणी सदस्य राजकिशोर यादव र उनका समूहले गत १५ जेठमा बालकुमारस्थित केन्द्रीय कार्यालयमा अर्का केन्द्रीय कार्यकारिणी सदस्य प्रकाश अधिकारीमाथि हातपात गरेका थिए ।
सो क्रममा केन्द्रीय कार्यालयका अधिकारीको कम्प्युटर र कुर्सी तोडफोड भएको थियो भने पुनः अधिकारीलाई सिरहामा सो समूहले आक्रामण गरेको थियो । ‘टिकट वितरणमा मनोमानी गरेका भन्दै राजकिशोर यादवलगायतको समूहले केन्द्रीय कार्यालय र सिरहा दुवैमा आक्रमण गरी तोडफोडसमेत गरेका थिए,’ एक केन्द्रीय सदस्यले भने ।
सो घटनाका बारेमा अध्यक्ष उपेन्द्र यादवलाई जानकारी गराएपछि सो बारेमा आन्तरिक छलफल भएको थियो । सोबारेमा जानकारी लिन खोज्दा अधिकारीले भने, ‘सामान्य नोकझोक भइहाल्छ, यो धेरै ठूूलो कुरा होइन ।’
जानकारहरुका अनुसार अधिकारीले प्रहरी उजुरी गर्ने भनेर मनस्थिति बनाए पनि अध्यक्ष यादवका कारण रोकिँदै आएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।