मकवानपुर गोल्डकपः घरेलु टोली विजय युथ क्लब फाइनलमा प्रवेश

घरेलु टोली विजय युथ क्लब हेटौंडामा जारी चौथो स्थानीय तह सहिद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० ले पराजित गर्दै विजय युथ फाइनलमा प्रवेश गरेको हो । 

निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफको ८औँ मिनेटमा विजय युथका विदेशी खेलाडी पेपेले उत्कृष्ट गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका हुन् । अमिर श्रेष्ठको कर्नर पासमा पेपेले हेड गोल गरेका हुन् । 

खेलमा थप गोल हुन नसक्दा पेपेको गोल नै निर्णायक बन्यो । पेपे नै प्रतियोगिताको म्यान अफ दी म्याच घोषित भए । खेललाई बराबरी ल्याउने पुलिसको प्रयासलाई विजय युथका गोलकिपर अशोक बरालले विफल पारेका थिए । 

क्वार्टरफाइनलमा नव जनजागृति क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै विजय युथले अन्तिम चारमा स्थान बनाएको थियो भने पुलिसले चर्च ब्वाइजलाई ४–० ले हराउँदै सेमिफाइलनमा स्थान सुरक्षित गरेको थियो । 

उपाधिका लागि विजय युथले शनिबार हुने दोस्रो सेमिफाइनलअन्तर्गत त्रिभुवन आर्मी र एफसी क्यामरुनबीचको विजेतासँग खेल्नेछ ।



मकवानपुरको १० पालिकाको सहयोग र फुटबल संघ मकवानपुरको आयोजना भएको प्रतियोगितामा विजेताले १५ लाख र उपविजेता टोलीले १० लाख प्राप्त गर्नेछन् । 

त्यस्तै, विधागत उत्कृट हुने प्रशिक्षकसहित ६ खेलाडीले ट्रफीसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइलक प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल जेठ ३० गते हुनेछ ।



  • प्रकाशित मिति : जेठ २७, २०७९ शुक्रबार २०:३६:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया