बजेटमा युवा उद्यमीलाई प्रोत्साहन, कार्यान्वयनमा चुनौती

सरकारले आगामी आर्थिक वर्षको बजेट युवा उद्यमीलाई प्रोत्साहन गर्ने किसिमको आएपनि कार्यान्वयनमा चुनौती रहेको युवा उद्यमीहरुले बताएका छन् । हरेक वर्ष सरकारले युवा उद्यमी, स्टार्टअप व्यवसायको लागि विभिन्न कार्यक्रम घोषणा भएपनि कार्यक्रममा नै सिमित रहेको उनीहरुको गुनासो छ । उनीहरुले सरकारको नीति तथा कार्यक्रममा  आउने तर कार्यान्वयनमा समस्या रहेको भन्दै यो वर्ष पनि त्यही समस्या दोहोरिन सक्ने आशंका व्यक्त गरे । 

नेपाल युवा उद्यम संघ ललितपुरका अध्यक्ष राजकरण श्रेष्ठले सरकारले आगामी आर्थिक वर्षको बजेट युवा उद्यममैत्री रहेको बताए । अध्यक्ष श्रेष्ठले स्नातक पास भएका युवालाई प्रमाणपत्र धितो राखेर ऋण दिने, नयाँ उद्यमीलाई सीटीइभीटीबाट उद्यमशील तालिम दिने कार्यक्रम ल्याएको बताए । उनले कार्यक्रम ल्याए पनि कार्यान्वयनमा समस्या रहेको बताए । अध्यक्ष श्रेष्ठले सरकारले भएका उद्योगको क्षमता वृद्धि गरेर युवाहरुलाई स्वरोजगारसहित उद्यमी बनाउनुपर्ने बताए । युवाले सरकारसँग धेरै अपेक्षा नराखि सरकारले युवा उद्यमीको लागि ल्याएका कार्यक्रम बोनसमा राखेर अगाडि बढ्नुपर्ने बताए । सरकारले कार्यक्रमहरु ल्याए पनि कार्यान्वयनको लागि नीति बनाउन नसकेकाले सबैभन्दा पहिला नीति बनाउनुपर्ने उनले बताए ।

‘सरकारले कार्यक्रम ल्याए पनि नीति बनाउन सकेको छैन । त्यसले काम गर्न केही असजिलो भएको छ । तर सजिलो भन्ने कुरा केहिपनि हुँदैन । सजिलो भएको भए सबैले गर्ने थिए । सरकार भनेको अभिभावक हो उद्यम गर्ने भनेको निजी क्षेत्रले नै हो’, उनले भने ।

युवा उद्यमी आभूषणज्योती कंशाकारले सरकारले आगामी वर्षको बजेट एउटा क्षेत्रलाई मात्रै नभइ मिसमास बनाएर ल्याएको बताए । उनले युवा उद्यमी र उद्यमको लागि राम्रो बजेट आएपनि कार्यविधि बनाएर कार्यान्वयन गर्नसके मात्रै राम्रो हुने बताए । उनले भने,‘सरकारले आगामी आर्थिक वर्षको बजेट एउटा सिङ्गल भिजन नभएर धेरै भिजनलाई हेरेर आएको छ । कोशिस राम्रो छ । तर धेरै मिसमास भएको देखिन्छ । युवा उद्यमी र उद्यमको लागि राम्रो नै आएको छ ।’

त्यस्तै अर्का युवा उद्यमी मनिष थापाले सरकारले २०७१/०७२ सालदेखि युवा मैत्री बजेट ल्याउने गरेपनि कार्यविधि बनाएर कार्यान्वयन भने हुन नसकेको कताए । उनले बजेटमा ९ वर्षदेखि व्यवस्था गरेपनि युवा उद्यमीको लागि लक्षित स्टार्टअप व्यवसायको कार्यविधि बन्न नसकेको बताए ।





  • प्रकाशित मिति : जेठ २८, २०७९ शनिबार १४:११:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया