मकवानपुर गोल्डकपः रोमाञ्चक जितका साथ आर्मी फाइनलमा

मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौंडामा जारी चौथो स्थानीय तह सहिद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकमा त्रिभुवन आर्मी फाइनल प्रवेश गरेको छ ।

शनिबार भएको दोस्रो सेमिफाइनल खेलमा क्यामरुनको एभिनियर एफसीसँग कठिन जित निकाल्दै साबिक विजेता आर्मी फाइनल प्रवेश गरेको हो । निर्धारित समय १–१ गोलको बराबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । 

टाइब्रेकरमा पनि बराबरी भएपछि सडनडेथमार्फत नतिजा निकालिएको हो । सडनडेथसम्म पुग्दा दुवै टिमबाट १४–१४ प्रहार भएको थियो । आर्मीको ११ प्रहार गोल हुँदा एभिनियरका १० मात्रै गोल भयो । अन्तिममा प्रहार गर्न पुगेका एभिनियरका डिजिकाको प्रहार बारमा लागेर फर्किएपछि आर्मी भाग्यमानी ठहरिएको हो ।

खेलमा भने आर्मीले सुरुवाती अग्रता बनाएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएकोमा दोस्रो हाफको सुरुवातीमै आर्मीले अग्रता लिएको थियो । आर्मीका लागि ५१औं मिनेटमा दिनेश हेन्जनले गोल गरेका हुन् । 

खेलको अतिरिक्त समयको अन्तिम केही सेकेण्ड बाँकी रहँदा एभिनियरका डिजिकाले हेडमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । आर्मीले उपाधिका लागि सोमबार घरेलु टोली विजय युथसँग प्रतिस्पर्धा गर्नेछ । 

विजय युथले शुक्रबार भएको पहिलो सेमिफाइनलमा पुलिसलाई १–० ले हराउँदै फाइनलमा स्थान बनाइसकेको छ । खेलको म्यान अफ द म्याच आर्मीका दिनेश हेन्जन भए । उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे ।



प्रतियोगिताको फाइनल खेल जेठ ३० गते हुनेछ । विजेताले १५ लाख र उपविजेताले १० लाख प्राप्त गर्नेछ । यस्तै सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइकल तथा विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ ।



  • प्रकाशित मिति : जेठ २८, २०७९ शनिबार २१:२२:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया