महोत्तरीमा बोक्सीको आरोपमा दुई वृद्धा महिलालाई निर्घात कुटपिट गरिएको छ । जलेश्वर नगरपालिका-६ धवौलीका कालीदेवी महतो र दुलरिया महतोलाई बोक्सीको आरोपमा छिमेकीले निर्घात कुटपिट गरेको पीडित पक्षले जनाएको छ ।
छिमेकी भुलन रामचमारले आफ्नी बुहारीलाई टुनामुना लगाएर बिरामी बनाएको भन्दै उनीहरूलाई कुटपिट गरिएको हो । कुटपिटका क्रममा दुवैजनाको मुख, घाँटी र ढाडमा चोट लागेको छ । अहिले कालीदेवीको जानकी हेल्थ केयर जनकपुरमा र दुलरिया देवीको गाउँमा नै घरेलु उपचार भइरहेको छ ।
घटना के भएको थियो ?
२६ जेठमा भुलन रामचमारको घरमा विवाहको रौनक थियो । भुलनको घरमा जमघट र रमाइलो चलिरहेका बेला उनकी बुहारी सोमारीदेवी एक्कासी बिरामी भइन् । सोही समयमा सोमारीदेवी देवता चढेको भन्दै बक्न थालिन् । सोमारीदेवीले कालीदेवी बोक्सी लागेको र उनलाई घरमा ल्याउन निर्देशन दिइन् ।
त्यसपछि तुरुन्तै सोमारीदेवीका कान्छा ससुरा भुलन रामचमार कालीदेवदीका घरमा पुगे र उनलाई लिएर आफ्नो घरमा आए । झुक्याएर घरमा ल्याएका कालीदेवीलाई आगनमा पुर्याएपछि बुहारीमाथि बोक्सी लगाएको भन्दै कपडा समेत खोलेर नाङ्गे झार बनाइ निर्घात कुटपिट गरिएको बताइएको छ ।
कालीदेवीको नाम लिइरहेकी सोमारीले दुलहरिया देवीलाई पनि तुरुन्त ल्याउन निर्देशन दिइन् । भुलनसहित उनका परिवार दुलहरियालाई खोज्दै जाँदा खेतमा फेला पारे । त्यसपछि उनको चुल्ठोमा समातेर लडाइयो र कपडा खोलेर नजिकै रहेको पोखरीमा डुबाइयो । ५२ र ५३ वर्षीया दुवै महिलालाई मलमुत्र खुवाउने प्रयाससमेत भएको पीडित पक्षको भनाई छ ।
के गर्दै छ प्रहरी ?
पीडित कालीदेववीका छोरा अमित महतो र दुलहरीदेवीका नाती रामजीवनले प्रहरीमा किटानी जाहेरी दिएका छन् । प्रहरीले २७ जेठमा नै कुटपिट गरी ज्यान मार्ने उद्योगमा उजुरी दर्ता गरिसकेको छ । घटनामा संलग्न भएको आरोप लागेका रामभुलन र सोमारीदेवीलाई प्रहरीले पक्राउ गरिसकेको छ । घटनामा संलग्न अन्य फरार रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
फरारको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सरोज राईले जानकारी दिए । पक्राउ परेकालाई म्याद थप्ने प्रक्रिया अगाडि बढाएर अनुसन्धान भइरहेको उनले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।