विद्यालयको छाना हावाले उडायो, मर्मतका लागि बजेट स्रोतको खोजीमा नगरपालिका
फरकधार / २९ जेठ, २०७९
यो सामग्री सेयर गर्नुहोस्

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका - १६ मा रहेको सरस्वती प्राथमिक विद्यालयमा चार कोठे भवनको पुरै जस्तासहित काठका ‘धुरी–बला’ हावाले उडाएको छ । १५ नं. वडामा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको सोलार पाता, १ नं. वडाको नेपाल राष्ट्रिय प्राथमिक विद्यालय धारापानीको दुई कोठे भवनको जस्ता पाता, १३ नं. वडा स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, काफल टाकुरा भवनको आधा पाली, ११ नं. वडा स्थित शिव माध्यमिक विद्यालय परिसरमा रुख ढलेर विद्यालयको भवनमा क्षति र ६ नं. वडा स्थित जन माध्यमिक विद्यालयको उत्तर तर्फको पर्खाल भत्किएर क्षति पुगेको छ । वीरेन्द्रनगर भित्रका सात वटा विद्यालयमा हावाहुरीले क्षति पुर्‍याएको छ ।



गत जेठ ६ गते आएको हावाहुरीले वीरेन्द्रनगर–१६ स्थित सरस्वती प्राथमिक विद्यालयमा जस्ताको छाना उडाउँदा अहिले विद्यार्थीहरूलाई एकै कोठामा फरक–फरक कक्षा अध्ययन–अध्यापन भइरहेको विद्यालयका प्रधानाध्यापक खड्कबहादुर खड्काले जानकारी दिए ।



जेठ ६ गते साँझ आएको हावाहुरीले चार कोठे भवनको जस्तापाता सहित काठको धुरी उडाएर टाढा पुर्‍याएको थियो । ढुङ्गा र माटोको जडान रहेको उक्त भवनको जस्ता उडाएको यो पहिलो पटक भने होइन । गतवर्ष पनि भवनको जस्ता हावाले उडाएपछि नयाँ राखिएको थियो । विद्यालयका प्रधानाध्यापक खड्काले भने, ‘गत वर्ष मात्रै नयाँ जस्ता फेरेका थियौँ । यसपालि पनि उडायो ।’



भौगोलिक अवस्थाले गर्दा पनि विद्यालयको भवन जोखिममै छ । उनले भने, ‘पहाडको डाँडामा विद्यालय पर्छ । यहाँ धेरै नै हावा चल्ने भएकाले विद्यालयका जस्तापाता सुरक्षित त छैनन् ।’ 



नगर भित्र रहेका विद्यालयहरूमा हावाहुरीले क्षति पुर्‍याएको जानकारी पाएको वीरेन्द्रनगर नगरपालिका भने विद्यालयहरूको मर्मत सम्भारका लागि बजेट स्रोतको खोजीमा छ । विद्यालयहरूमा पुगेको क्षतिमा पुनः निर्माण तथा मर्मत सम्भारका लागि आवश्यक रकम नगरपालिकासँग उपलब्ध छैन । त्यसैले नगरपालिका मर्मत सम्भारका लागि स्रोतको खोजीमा लागेको हो ।

विद्यालयमा क्षति पुगेको दुई हप्तापछि वीरेन्द्रनगर नगर कार्यपालिकाको पहिलो बैठकमा विद्यालयहरूमा पुगेको क्षतिको मर्मतका लागि स्रोत खोज्ने निर्णय भएको छ । गत सोमबार बसेको कार्यपालिकाको पहिलो बैठकको निर्णय छ, ‘हावाहुरी र अन्य कारणले नगरका विभिन्न विद्यालयको छाना तथा भौतिक संरचनामा भएको क्षतिको स्थलगत रूपमा प्राविधिक मूल्याङ्कन गरी सो का लागि आवश्यक स्रोत खोजी शीघ्र मर्मत गर्ने ।’



वीरेन्द्रनगर नगरपालिकाले विद्यालयमा पुगेको क्षतिमा मर्मत गर्न नसक्ने भएपछि स्रोतको खोजी गर्ने निर्णय गरेको हो ।  वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारीले भने, ‘भवन निर्माण तथा विद्यालयमा पुगेको क्षतिको मर्मतका लागि कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयसँग सहयोग माग्दैछौँ ।’

यसका साथै वीरेन्द्रनगर नगरपालिकाले नगरको शैक्षिक क्षेत्रमा योगदान दिन चाहने नागरिकका लागि नगर शैक्षिक कोषको स्थापना गर्ने निर्णय गरेको छ । स्वेच्छिक शैक्षिक कोष स्थापना गरी नगरको शैक्षिक स्तर अभिवृत्ति गर्न नगर कार्यपालिकाले सो निर्णय गरेको वीरेन्द्रनगर नगरपालिकाका सूचना अधिकारी उत्तम प्रसाद आचार्यले जानकारी दिए ।



नगर कार्यपालिकाको पहिलो बैठकबाट निर्णय गर्दै नगरपालिकाले ‘म बनाउँछु मेरो नगरलाई शैक्षिक हब’ अभियानको थालनी गरेको हो । कोष स्थापनाका लागि नगरको शिक्षा, युवा तथा खेलकुद शाखालाई जिम्मेवारीसमेत दिइएको छ । 

  • प्रकाशित मिति : जेठ २९, २०७९ आइतबार १५:४३:४,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया