कर्णालीमा अपाङ्गता भएका आठ हजार बालबालिका उपचारको पर्खाइमा

सल्यान जिल्लाको बागचौर नगरपालिका–११ बस्ने जनक वलीलाई जन्मजात खुट्टामा समस्या थियो । जन्मजात नै जनकले दुवै खुट्टा टेक्न नसक्ने र बाङ्गो देखेर उनका अभिभावक निकै चिन्तामा थिए । अपाङ्गता समस्याका साथ छोराको जन्म भएपछि उनका बुवा सुन्दर वलीलाई जनकको भविष्य बारे चिन्ता हुन्थ्यो ।

दैलेखको ढुंगेश्वर गाउँपालिका–३ मा जन्मिएका जुम्ल्याहा दाजुभाइमा पनि यस्तै प्रकारको समस्या देखियो । जुम्ल्याहा दाजुभाई अभिषेक र आशिषमा खुट्टा बाङ्गिने तथा टेक्न नसक्ने समस्या देखिएपछि उनका बुवा मोहन मल्ल निकै चिन्तामा थिए । गोरखा जिल्लामा जन्मिएका लक्ष्मणको पनि अवस्था उस्तै थियो । जन्मिँदा उनी सामान्य नै थिए । विस्तारै उनका खुट्टाहरूमा समस्या देखिन थाल्यो । खुट्टाका हड्डी हरु भाँचिएको झै हुन थाले, मांसपेसीहरु लत्रिन थाले ।

हिँड्डुल गरिरहेको बालक लक्ष्मणलाई यतिसम्म समस्या आयो कि, उनकी सानी बहिनीले बोकेर उनलाई विद्यालय पुर्याउँथिन् । जहाँ पुग्दा पनि उनि कसैको पिठ्युँको सहारामा पुग्नु पथ्र्यो । उनमा ‘ओस्टियोजेनेसिस इम्परफेक्टा’ नामक हाडजोर्नी सम्वन्धीको दुर्लभ विरामीको लक्षण देखापरेको थियो । 

कक्षा कोठामा अन्य साथीबाट समेत लक्ष्मणले दुर्व्यवहार सहनुपर्यो । पहाडको बाटोमा सधैं दोस्रो व्यक्तिको पिठ्युँमा चढेर विद्यालय पुग्न सम्भव पनि थिएन, अन्त्यमा लक्ष्मणले पनि विद्यालय छोडे । दाङको तुलसीपुर उपमहानगरपालिका–२ मा तीन दाजुभाइमध्ये जेठी सन्तानको रुपमा एक वालिकाको जन्म भयो । उनको जन्म सामान्य भने थिएन । जन्मजात नै उनि ‘स्कोलियोसिस’ स्वास्थ्य समस्याका साथ जन्मिएकी थिइन् ।

उनको स्वास्थ्य समस्का कारण उनका परिवार चिन्तित थिए । स्वास्थ्य उपचार क्षेत्रमा अहिले पनि मेरुदण्डको जटिल शल्यक्रिया महंगो नै छ । खेति–किसानी नै आम्दानीको स्रोत रहेको उनको परिवारलाई छोरीको उपचारका लागि खर्च गर्नसक्ने सवल आर्थिक अवस्था पनि थिएन । 

जन्मजात उनको मेरुदण्ड सिधा थिए । बढ्दो उमेरसँगै उनको ढाड झनझन बटारिन थाल्यो । मेरुदण्डले झन्झन् समस्या दिएपछि विद्यालयको औपचारिक शिक्षाबाट वञ्चित  हुनुपर्यो ।



यी बालबालिका नेपालको स्वास्थ्य अवस्था झल्काउने प्रतिनिधि पात्र मात्र हुन् । अझैपनि नेपालमा यस्ता स्वाथ्य समस्या भएका बालबालिकाको संख्या न्यून भने छैन । खासगरी कर्णाली प्रदेशमा शारिरिक अपाङ्ग भएका बालबालिकाको संख्या हजारौँको संख्यामा छ । समयमा नै उपचार हुन सके निको हुनसक्ने अवस्था रहँदा–रहँदै पनि अधिकांशले उपचार पाएका छैनन् । उपचार अभावका कारण उनीहरु आफ्नै समुदायमा कुण्ठित भई बस्न बाध्य छन् ।

माथी उल्लेखित बालबालिकाले समयमै उपचार पाए, उनीहरुको स्वास्थ्य अवस्था भने अहिले सामान्य नै छ । वरिष्ठ एनेस्थेसियोलोजिस्ट तथा स्पाइन सर्जनहरूले उनीहरुको समस्याको शल्यक्रियासमेत गरेका छन् । सफल शल्यक्रिया पश्चात उनीहरुको स्वास्थ्य अवस्था अहिले सामान्य छ ।



‘यस्तो समस्याको उपचार गर्न सकिन्छ भनेर हामीले कहिल्यै सोचेका पनि थिएनौं’, लक्ष्मणकी आमा भन्छिन्, ‘उपचारका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु, मेरो छोराले नयाँ जिवन पाएको छ ।’

दुई महिनाको अवधिमा लक्ष्मणले आफ्नो खुट्टाको धेरै शल्यक्रिया गर्नुपर्यो, उनको सफल उपचार पनि भयो । लक्ष्मण अहिले खेल्न तथा कुद्न सफल भएका छन् । विद्यालयको औपचारिक शिक्षा पनि लिइरहेका छन् । विलाङ्ग मित्र समूह र अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्रले निःशुल्क रुपमा शल्यक्रिया मार्फत माथी उल्लेखति बालबालिकाको स्वास्थ्य अवस्थालाई सामान्य बनाएको हो ।

०६८ को जनगणना अनुसार कर्णालीमा ८ हजार ३०७ बालबालिकामा देखिएका यस्ता स्वास्थ्य समस्याका कारण शारिरिक अपाङ्गता रहेको तथ्यांक छ । जसमध्य हालसम्म १ हजार ७२७ जनाले शारिरिक अपाङ्गता विरुद्ध उपचार गरिरहेका छन् । अझैपनि ७ हजार ८ सय ४२ जना शारिरिक अपाङ्गता भएका बालबालिका उपचारको पहुँच बाहिर रहेको होमराज केसी बताउछन् । केसी विगत लामो समय यता विलाङ्ग मित्र समूह/अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्र (एचआरडीसी) सँग आवद्ध रही कर्णाली प्रदेश पर्यवेक्षकका रुपमा क्रियाशिल रही आएका छन् ।

शारिरिक अपाङ्गता भएका बालबालिकाको संख्या कर्णाली प्रदेशमा धेरै छ । ०६८ कै तथ्यांक हेर्ने हो भने सबैभन्दा बढी सुर्खेतमा एक हजार आठ सय ५६ जना बालबालिकामा शारिरिक अपाङ्गता देखिएको छ । त्यसैगरी दैलेखका एक हजार तीन सय ८५ जना बालबालिकामा शारिरिक अपाङ्गता छ । सल्यानमा एक हजार दुई सय ८२ जना बालबालिकामा शारिरिक अपाङ्गता छ ।

यसैगरी कालिकोटमा सात सय २४, जुम्लामा पाँच सय ७६, मुगुमा दुई सय ९२, रुकुम पश्चिममा आठ सय २२, जाजरकोटमा नौं सय ६, डोल्पामा एक सय ९४ र हुम्लामा दुई सय ६९ जना बालबालिकामा शारिरिक अपाङ्गता समस्या रहेको छ ।

शारिरिक अपाङ्गता भएका बालबालिकाको उपचार समयमै गर्न सके उपचार सम्भव रहेको एचआरडिसीका कर्णाली प्रदेश पर्यवेक्षक केसी बताउछन् । धेरै संख्यामा बालबालिकामा शारिरिक अपाङ्गता रहे तापनि उनको उपचार तथा पुनर्स्थापनाका विषयमा कर्णाली प्रदेश सरकार तथा स्थानीय तहले चासो नदेखाएको उनको आरोप छ । 

उनले भने, ‘चालु आर्थिक वर्ष २०७८/०७९ मा एचआरडिसीले कर्णाली प्रदेशभर विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । कर्णालीका विभिन्न स्थानमा १५ दिन सञ्चालन गरिएको शिविरमा बालबालिकामा अपाङ्गता स्वास्थ्य समस्या भएका एक हजार नौ सय बालबालिकाको पहिचान भएको छ । जसमध्य दुई सय जनाभन्दा बढी बालबालिकालाई तत्काल शल्यक्रियाको आवश्यकता छ ।’

स्वाथ्य शिविर मार्फत चार सय भन्दा बढी बालबालिकालाई कृत्रिम खुट्टा, वैशाखी लगायतका सामाग्री सहयोग गरिएको उनले बताए । कर्णालीमा धेरै संख्यामा रहेका बालबालिकाको अपाङ्गता स्वास्थ्य समस्याका लागि समयमै सम्वन्धित निकायले सोच्नुपर्ने उनको सुझाव छ ।

  • प्रकाशित मिति : जेठ ३०, २०७९ साेमबार ८:५६:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया