कपोलकल्पित र भ्रमपूर्ण विषय राखी समाचार प्रकाशित हुनु खेदजनक : अर्थ मन्त्रालय

अर्थ मन्त्रालयले अर्थमन्त्री र मन्त्रालयलाई जोडेर प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएको छ । अर्थमन्त्रीले मध्यरातमा एक पूर्वनासुलाई प्रयोग गरेर करको दर परिवर्तन गरेको भन्दै विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएको थियो । 

यसबारे संसदमा कुरा उठाउँदै एमाले नेता योगेश भट्टराईले अर्थमन्त्रीले राजीनामा दिनुपर्ने माग गरेका थिए । यस सम्बन्धमा  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्थमन्त्रीलाई भेटेर मार्गप्रशस्त गर्न आग्रह गरेका थिए । 

तर, करको दर परिवर्तनमा पूर्वनासुको संलग्नताको विषयलाई खण्डन गरेको छ । बजेटलाई अन्तिम रूप दिने सन्दर्भमा १४ जेठ, २०७९ मा समेत बिहानैदेखि मन्त्रालयमा अर्थमन्त्रीको नेतृत्वमा सचिव, सचिव (राजस्व) र मन्त्रालयका सम्बन्धित महाशाखा प्रमुखहरू तथा भन्सार विभाग र आन्तरिक राजस्व विभागका महानिर्देशक समेतको सहभागितामा काम भएको अर्थ मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘आर्थिक ऐनमार्फत राजस्व संकलन गर्ने, करका दर परिवर्तन गर्ने तथा राजस्व प्रशासन सम्बन्धी प्रचलित कानूनलाई संशोधन गर्ने सम्बन्धमा मन्त्रालयमा रहेको अधिकारको परिधिभित्र गरिएको छ । निजी, सरकारी तथा गैरसरकारी क्षेत्रलगायत विभिन्न विज्ञहरूको राय सुझावका आधारमा अर्थ मन्त्रालयले करका दरहरू प्रस्ताव गर्ने प्रचलित अभ्यास रहेको छ । आर्थिक वर्ष २०७९–८० को बजेट मूलतः आयातमुखी अर्थतन्त्रलाई आत्मनिर्भरतातर्फ डोर्याउँदै सुदृढ अर्थतन्त्र निर्माणतर्फ निर्देशित रहेको र सो बमोजिम करका दरहरूमा केही संशोधन सहित प्रस्तावित आर्थिक विधेयक लगायतका बजेट सम्बद्ध अन्य विधेयकहरू हाल संघीय संसद्को दुवै सदनमा छलफलका क्रममा रहेको छ । परम्परागत अर्थतन्त्रलाई आयातबाट उत्पादनतर्फ, जोखिमबाट समष्टिगत आर्थिक स्थिरतातर्फ र वञ्चितिकरणबाट समावेशितातर्फ प्रस्थानसहितको जनप्रिय बजेट सार्वजनिक भएको सबैलाई विदितै छ । मुलुकको अर्थतन्त्रको विकास र सुधारका विषयमा निरन्तर क्रियाशील रहनुभएका माननीय अर्थ मन्त्रीका बारेमा भ्रम सृजना हुने गरी तथ्य र तर्कभन्दा टाढा रही कपोलकल्पित र भ्रमपूर्ण विषय राखी समाचार प्रकाशित हुनु खेदजनक छ ।’

बजेट तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमार्फत मुलुकको आर्थिक विकासको गतिलाई तीव्रता दिनुपर्ने समयमा भ्रामक तवरले समाचार प्रकाशन भएको मन्त्रालयको भनाइ छ ।

मन्त्रालयले सन्तुलित, तथ्यपूर्ण र विश्वसनीय समाचारका लागि सम्बन्धित पक्षको आधिकारिक भनाइ राख्नुपर्ने पत्रकारिताको सामान्य सिद्धान्तलाई समेत विचार नगरी प्रकाशित यस्ता समाचारले समाजमा भ्रम पैदा गर्ने बताएको छ ।





  • प्रकाशित मिति : जेठ ३०, २०७९ साेमबार १८:१४:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया