मकवानपुर गोल्डकपः त्रिभुवन आर्मीले हात पार्यो उपाधि

हेटौंडाको पिप्ले रंगशालामा सम्पन्न चौथो संस्करणको स्थानीय तह सहिद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकपको उपाधि त्रिभुवन आर्मी क्लबले हात पारेको छ । 

सोमबार सम्पन्न रोमाञ्चक खेलमा घरेलु टोली विजयी युथ क्लब हेटौंडालाई २–१ गोलअन्तरले पराजित गर्दै साविक विजेता आर्मीले उपाधि हात पारेको हो । योसँगै मकवानपुर गोल्डकपको उपाधि आर्मीले दोस्रोपटक हात पारेको छ । आर्मीले उपाधि सिल्डसँगै १५ लाख हात पारेको छ भने उपविजेता बनेको हेटौँडाले सिल्डसँगै १० लाख हात पारेको छ ।

आर्मीले यसअघि, ०७७ सालमा भएको तेस्रो मकवानपुर गोल्डकपको फाइनलमा खेलमा पनि घरेलु टोलीलाई हराउँदै उपाधि हात पारेको थियो । आर्मीले तेस्रो मकवानपुर गोल्डकपमा घरेलु टोली मकवानपुर ११ लाई १–० गोलअन्तरले पराजित गर्दै उपाधि हात पारेको थियो । अघिल्लोपटक फाइनलमा पुगेर उपाधि हात पार्न नसकेको हेटौँडाले यसपटक पनि उपविजेतामा चित्त बुझाएको छ ।

आर्मीलाई च्याम्पियन बनाउन कप्तान भरत खवास र कमलबहादुर थापाले गोल गरे । घरेलु टोली विजय युथका डोना थापाले पेनाल्टीमार्फत एक गोल फर्काए । खेलको १५औँ मिनेटमा कप्तान भरत खवासको गोलबाट आर्मीले सुरुवाती अग्रता लिन सफल भएको थियो । 

उनले टेकबहादुर बुढाथोकीको पासमा सुन्दर फिनिसको नमुना पेस गरेका थिए । त्यसको १० मिनेटपछि घरेलु टोलीले बराबरी गोल फर्काउन सफल भयो । युद्ध शाहीले पेनाल्टी बक्समा विमल रानालाई फउल गरेपछि रेफ्रीले विजय युथलाई पेनाल्टी प्रदान गर्दा डोना थापा चुकेनन् । 



दोस्रो हाफको सुरुमै कमलबहादुर थापाले गोल गर्दै आर्मीलाई २–१ को अग्रता दिलाए । लगत्तै आर्मीले पेनाल्टीको अवसर पाए पनि दिनेश हेन्जनले गोल गर्न नसक्दा आर्मी थप अग्रता लिनबाट चुक्यो । विजय युथका कप्तान तथा गोलरक्षक अशोक बरालले सन्तोष केसीलाई फउल गरेपछि प्राप्त पेनाल्टीमा दिनेशले गोल गर्न सकेनन् ।

त्यसपछि थप गोल निस्कन नसक्दा आर्मी विजयी हुँदै च्याम्पियन बन्न सफल भयो । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा १२ टोलीहरुको सहभागिता रहेको थियो । 



त्यस्तै, घरेलु टिम एफसी विजय युथका क्याप्टेन अशोक बरालले बुलेट बाइका पाएका छन् । सोमबार भएको फाइनल खेलमा उपविजेता बनेको एफसी विजय युथका बराल ए डिभिजन क्लबमा व्यावसायिक फुटबल खेलाडी हुन् । 

प्रतियोगिताको उत्कृष्ट खेलाडीका लागि बुलेट बाइकको प्रायोजन हेटौंडा स्कुल अफ म्यानेजमेन्टले गरेको हो । यसअघि तेस्रो संस्करणमा पनि हेटौँडा स्कुल अफ म्यानेजमेन्टले नै बुलेट बाइकको प्रायोजन गरेको थियो । तेस्रो संस्करणमा मकवानपुरकै अमीर श्रेष्ठले बुलेट बाइक पाएका थिए ।

यस्तै, प्रतियोगिताको उत्कृष्ट गोलरक्षक आर्मीका बिकेश कुथु घोषित भए । उत्कृष्ट मिडफिल्डरमा आर्मीका विवेक बस्नेत, स्ट्राइकरमा आर्मीकै दिनेश हेम्जन र प्रशिक्षकमा आर्मीका नवीन न्यौपाने घोषित भए । विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पाएका छन् ।

  • प्रकाशित मिति : जेठ ३०, २०७९ साेमबार २०:२४:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया