जिसस मकवानपुर : प्रमुखका लागि माओवादी र एमाले चुनावी मैदानमा
गठबन्धनसँग १७, एमालेसँग तीनजना मतदाता

 

मकवानपुर जिल्ला समन्वय समितिको निर्वाचन असार २ गते हुँदै छ । स्थानीय तहको निर्वाचन सकिएपछि अब जिल्ला समन्वय समिति सदस्यको लागि मकवानपुरमा निर्वाचनको तयारी सुरु भएको हो । जिससको प्रमुखका लागि मकवानपुरमा गठबन्धन तर्फका उम्मेदवार र नेकपा एमालेका उम्मेदवार बीच टक्कर पर्ने भएको छ । 

स्थानीय तहको निर्वाचनमा धेरै सिट जितेको कांग्रेस मकवानपुरमा जिसस पनि कब्जा गर्ने दाउमा रहेको थियो । तर, प्रायः स्थानीय तहको प्रमुखको उम्मेदवारी पाएको कांग्रेसले जिससमा उपप्रमुखमा चित्त बुझाएको छ । प्रमुखमा भने उसले नेकपा माओवादी केन्द्रलाई सहयोग गर्ने भएको छ ।  

केही दिनअघि मात्रै हेटौँडामा पत्रकार सम्मेलनका क्रममा नेपाली कांग्रेस मकवानपुर जिल्ला पार्टी सभापति बुद्ध लामाले मकवानपुरमा कांग्रेस सबैभन्दा ठूलो दल भएकाले आफूहरूले जिल्ला समन्वयमा आफ्नो दाबी रहेको बताएका थिए । 

स्थानीय तह सदस्य निर्वाचनमा १० स्थानीयमध्ये थाहा नगरपालिका र हेटौँडा उपमहानगरपालिकाको नेतृत्व क्रमशः माओवादी केन्द्र र एकीकृत समाजवादीलाई दिएका कारण पनि जिल्लाको नेतृत्व दाबी गर्ने अधिकार कांग्रेससँग रहेको लामाले बताउँदै आएका थिए । तर, पछिल्लो समय सत्तारुढ गठबन्धन दलको छलफलपछि जिससको प्रमुखमा गठबन्धनबाट नेकपा माओवादी तर्फबाट उम्मेदवारी दर्ता भएको छ ।

जिल्ला समन्वय समिति मकवानपुरको प्रमुखमा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका ललितबहादुर घलानको उम्मेदवारी परेको छ । यस्तै, नेकपा एमालेबाट बुद्धिराम डिम्डुङको उम्मेदवारी परेको छ । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको निर्वाचन कार्यक्रमअनुसार सोमबार उम्मेदवारी दर्ता गरिएको हो ।



गठबन्धनबाट उपप्रमुखमा नेपाली कांग्रेसका सानुकाजी लुइँटेलको उम्मेदवारी दर्ता भएको छ । उपप्रमुखमा नेकपा एमालेले उम्मेदवारी दर्ता नै गरेको छैन । यद्यपि, दर्ता गर्ने तयारीमा रहेको एमालेको स्रोतले जनाएको छ । 

यस्तै, महिला सदस्यमा गठबन्धनबाट नेपाली कांग्रेसकी तारा ढुंगाना, विष्णुमाया थपलिया र सुमिता थिङको उम्मेदवारी परेको छ भने नेकपा एमालेबाट बिनाकुमारी थिङ लामाको उम्मेदवारी परेको छ । महिलातर्फ तीनजना सदस्य निर्वाचित हुनेछन् । दलित सदस्यमा नेकपा एकीकृत समाजवादीबाट सुनिता दर्नाल परियारको एकल उम्मेदवारी परेको छ ।



खुलातर्फ तीनजना सदस्यमा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका वीरेन्द्रकुमार लामा, नेकपा माओवादी केन्द्रबाट खड्कबहादुर पुलामी र सुवर्ण गोपालीको उम्मेदवारी परेको छ भने नेकपा एमालेबाट तोयानाथ तिमल्सिनाको उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

जिल्ला समन्वय समितिको निर्वाचनमा मकवानपुरको हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका र ८ वटा गाउँपालिकाका प्रमुख र उपप्रमुख गरी कूल २० जनाले मतदान गर्न पाउनेछन् । नेपाली कांग्रेसका नौजना, नेकपा माओवादी केन्द्रमा सातजना, नेकपा एमालेका तीनजना र नेकपा एकीकृत समाजवादीका एकजना मतदाता रहेका छन् । स्थानीय तहको मतपरिणामका आधारमा पनि सत्तारुढ गठबन्धन दलहरुको जिल्लामा भारी बहुमत रहेको प्रस्ट छ । 

संविधानको धारा २२० मा जिल्ला सभा र जिल्ला समन्वय समितिको व्यवस्था’ उल्लेख गरिएको छ । जिल्लाभित्रका गाउँपालिका र नगरपालिकाहरूका बीचमा समन्वय गर्न एक जिल्ला सभा रहने व्यवस्था छ । जिल्ला सभामा एकजना प्रमुख एकजना उपप्रमुख, कम्तीमा तीनजना महिला र कम्तीमा एकजना दलित वा अल्पसंख्यकसहित बढीमा नौजना सदस्य रहेको जिल्ला समन्वय समितिको निर्वाचन गर्ने व्यवस्था रहेको छ । 

यसरी उम्मेदवार हुने व्यक्ति पालिका सदस्य हुनुपर्नेछ । जिल्ला समन्वय समितिको प्रमुख, उपप्रमुख वा सदस्य पदमा निर्वाचित भएका त्यस्तो व्यक्तिको गाउँसभा वा नगरसभाको सदस्य पद स्वतः रिक्त हुने संविधानमा उल्लेख गरिएको छ । 

के हुन्छ जिससको काम ?

जिल्लाभित्रका गाउँपालिका र नगरपालिकाहरूबीच समन्वय गर्न, विकास तथा निर्माण सम्बन्धी कार्यमा सन्तुलन कायम गर्न र सोको अनुगमन गर्न तथा जिल्लामा रहने संघीय र प्रदेश सरकारी कार्यालय र गाउँपालिका र नगरपालिकाबीच समन्वय गर्न तथा जिल्ला सभाको अन्य काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गरी संघ, प्रदेश र स्थानीय तहबीच सहकारिता, सहअस्तित्व र समन्वयलाई प्रवद्र्धन गर्न र जिल्ला सभाको सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा आवश्यक व्यवस्था गर्ने काम जिससले गर्छ । नेपालको संविधानको धारा १७५ बमोजिमको प्रदेश व्यवस्थापिका (प्रदेश सभा) ले यो ऐन बनाएको हो ।

  • प्रकाशित मिति : जेठ ३०, २०७९ साेमबार २०:५७:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया