हावाहुरीले क्षति पुर्‍याएको विद्यालयलाई एनएमबि बैंकले सहयोग गर्ने

गत ६ जेठमा आएको हावाहुरीले वीरेन्द्रनगर–१६ स्थित सरस्वती प्राथमिक विद्यालयमा जस्ताको छाना उडाएपछि विद्यार्थी एकै कोठामा फरक–फरक कक्षा अध्ययन गर्न बाध्य छन् । विद्यालयको यस्तो अवस्था देखेपछि भवन पुनःनिर्माणका लागि एनएमबि बैंकले सहयोग गर्ने भएको छ । 

चारवटा कोठा रहेको विद्यालय भवनको ‘धुरीबला’ सहित जस्तापाता नै हावाहुरीले उडाएको थियो । यसका साथै भवनको भित्तामा समेत क्षति पुगेको छ । बैंकले विद्यालयको भवन पुनःनिर्माणमा सहयोग गर्ने भएको प्रध्यानाध्यापक खड्कबहादुर खड्काले बताए ।

‘हाम्रो विद्यालयको समस्यालाई मध्यनजर गरी सहयोग गर्न अग्रसर हुनुभएको एनएमबि बैंक परिवारलाई धन्यवाद दिन चाहन्छौं,’ उनले भने ।
२०५४/५५ सालमा निर्माण भएको उक्त भवन पटकपटक पुनः निर्माण भएको समेत हो । यस यसपालि भने एनएमबि बैंकको प्राविधिकसहितको टोलीले विद्यालयको स्थलगत निरीक्षण गरी पुनःनिर्माण गर्न सकिने जनाएपछि भवन निर्माण प्रक्रिया अघि बढ्दैछ ।

बैंकका क्षेत्रीय प्रबन्धक मित्रराज प्याकुरेलले भने, ‘हावाहुरीले क्षति पुर्‍याएको उक्त भवनमा हामीले प्राविधिक सहितको टोलीका साथ स्थलगत अवलोकन गरेका थियौँ । यस विषयमा बैंकको केन्द्रिय कार्यालयमा जानकारी गराएपछि विद्यालय भवनको पुनःनिर्माणमा बैंकले सहयोग गर्ने प्रक्रिया अघि बढेको छ ।’ 

बैंकका प्राविधिकले करिब पाँच लाख रुपैयाँ आसपासमा विद्यालयको भवन पुनःनिर्माण गर्न सकिने जनाएका थिए । विद्यालयको व्यवस्थापन समितिले भवन पुनः निर्माणका लागि बैंकलाई आवश्यक कागजपत्र पठाईसकेको छ । यता एनएमबि बैंक समेत विद्यालयसँग सम्झौताको तयारीमा छ । प्याकुरेलले भने, ‘विद्यालयसँगको सम्झौताको अन्तिम तयारीमा छौँ । उहाँहरूसँग सम्झौता भयो भने भोली नै विद्यालयको भवन पुनःनिर्माणको प्रक्रिया अघि बढ्छ ।’

विद्यालयसँगको सम्झौता पछि आफैले भवन पुनःनिर्माण गरी विद्यालयलाई हस्तान्तरण गर्ने बैंकको योजना छ । प्याकुरेलले भने, ‘मनसुन पनि सुरु हुँदैछ । यस्तो अवस्थामा जति सक्दो चाँडो काम गर्न पाए राम्रो हुन्थ्यो । मनसुनले विद्यार्थीको अध्ययन–अध्यापन वातावरणमा पनि प्रभाव पार्न सक्छ । त्यसैले मनसुन अघि नै दु्रत गतिमा विद्यालयको भवन पुनःनिर्माण गरी हस्तान्तरण गर्न चाहन्छौँ ।’
 
हावाहुरीले क्षति पुर्‍याउँदा विद्यालयको पठनपाठनमा अवरोध पुगेपछि बैंक र विद्यालयबीच राजनीतिज्ञ तथा व्यवसायी उपेन्द्र खड्काले समन्वयकारी भूमिका निर्वाह गरेका थिए । बैंकलाई विद्यालयको पुनःनिर्माणका प्रेरित गर्ने र विद्यालयलाई सहयोग आउनसक्ने स्रोतको वारेमा खड्काले नै जानकारी दिएका थिए ।



उनले भने, ‘वीरेन्द्रनगरका धेरै विद्यालयहरुमा हावाहुरीले क्षति पुर्‍याएको थियो । जसमध्य सबैभन्दा धेरै क्षति पुगेको र तत्काल सहयोगको आवश्यकता रहेको विद्यालय सरस्वती प्रावि नै देखेपछि मैले बैंकसँग सहकार्य गरेको थिए ।’

विद्यालयका विषयमा प्रकाशित समाचारका विषयमा बैंकमा छलफल भएपछि सहयोगको लागि बैंक अगाडि सरेको उनी बताउँछन् ।  सरस्वती प्राथमिक विद्यालयलाई कक्षाकोठाका लागि भवन निर्माणका विषयमा वीरेन्द्रनगर नगरपालिकाले लागत खर्चको लागि​ स्रोतको खोजी गरिरहेको समेत थियो । यसका लागि कर्णाली प्रदेश सरकारसँग अनुरोध गर्ने योजना गरेको नगरपालिकाले आगामी वर्षको बजेटबाट विद्यालयका लागि दुई कोठे पक्की भवन निर्माण गर्ने जनाएको छ ।



नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि तिवारीले भने, ‘यसअघि पनि नगरपालिकाले सो विद्यालयका लागि भवन मर्मतमा खर्च गरिनै रहेको हो । अब भने हामी विद्यालयमा पक्की भवन निर्माणको योजनामा छौं ।’ 

जीर्ण भवनका कारण समय समयमा मर्मत गरिराख्नुपर्ने भएकाले पनि नगरपालिकाले उक्त विद्यालयमा पक्की भवन निर्माणको योजना अघि सारेको हो ।  

  • प्रकाशित मिति : जेठ ३१, २०७९ मंगलबार १३:५६:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया