'मधेश प्रदेश सरकारले जानकी मन्दिरकाे स्वरुप बिगार्याे'

मधेस प्रदेश सरकारले सौन्दर्यीकरणको नाममा जानकी मन्दिरको स्वरुप नै बिगारेको आरोप लगाइएको छ । जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले मंगलबार एक पत्रकार सम्मेलनको आयोजना गरी यस्तो आरोप लगाएका हुन् । 

महन्थ दासले मधेस प्रदेश सरकारले मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत मन्दिरको सौन्दर्यीकरण र विद्युतिकरणको नाममा मन्दिरको विभिन्न भागमा तोडफोड गरी पुरातात्विक स्वरुप नै बिगारेको आरोप लगाएका छन् ।  

मुख्यमन्त्री स्वच्छता अभियानअन्तर्गत जानकी मन्दिर परिसर तथा मन्दिर भित्र टाइल्स, मार्बल, गेट निर्माण तथा मरम्मत सहितका भएका सौन्दर्यीकरणका कामहरु तथा प्रदेश सरकारकै कार्यक्रम अन्तर्गत वृहत्तर जनकपुर क्षेत्र विकास परिषदद्वारा गरिएको विद्युतिकरणमा भ्रष्टाचार भएको महन्थ दासको दावी छ । 

‘७ करोड २० लाखको लागतमा मन्दिर प्रांगणमा लगाइएका टाइल्स, मार्बल एक वर्ष पूरा नहुँदै फुटन थालेका छन् भने प्रदेश सरकारको ११ करोड रुपैयाँको बजेटमा गत वर्ष वृहतरले जडान गरेको लाइट एक/डेढ महिनामै बिग्रेर थन्केको छ, उनले भने,‘ कमसल सामाग्रीको प्रयोग भएकोले टाइल्स मार्बल फुटन थालेका छन् । सौन्दर्यीकरणमा प्रदेश सरकारका मन्त्री, कर्मचारी र ठेकेदारले भ्रष्टाचार गरेका छन् भने लाइटिङ्गको काममा वृहतर र सम्बन्धित मन्त्रालयका कर्मचारी तथा मन्त्रीले भ्रष्टाचार गरेका छन् ।’

सरकारी रकम डाइरेक्ट भ्रष्टाचार गर्न नपाएर प्रदेश सरकारका पदाधिकारी र कर्मचारीहरुले विभिन्न बहानामा जानकी मन्दिरमा सौन्दर्यीकरण र लाइटिङ्गको काम अघि बढाएको महन्थ दासको आरोप छ ।  

उनले मन्दिरमा कुनै काम गर्न प्रदेश सरकारले आफूसँग सोधपुछ नै नगरी मनोमानी तरिकाले मन्दिरको पुरातत्वमा असर पर्ने गरी तोडफोड गरेको आरोपसमेत लगाए ।



उनले भने, ‘विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रियामा रहेको यस मन्दिरको पुरातात्विक वस्तुलाई अहिलेसम्म छेडछाड गरिएको थिएन । तर प्रदेश सरकारले सौन्दर्यीकरणको नाममा तोडफोड गरी मन्दिरको पुरातात्विक स्वरुपलाई समेत बिगारेको छ ।’

‘जानकी मन्दिरको नाममा लुट्ने काम ठीक होइन । वृहत्तरले ११ करोडमा जडान गरेको विजुली लाइट मिस्त्रीले भने अनुसार एक डेढ महिनामै सबै खराब भइसकेको छ । बल्ने लायक छैन । पटक पटक मरम्मत गर्नका लागि आग्रह गर्दा वृहत्तर भने मिस्त्री नआएको बहाना बनाएर पन्छिरहेको छ ।’ 



उनले प्रदेश सरकार र सरकारी निकायहरुले जानकी मन्दिरलाई कमाई खाने भाँडो बनाएको गुनासो गरेका छन् । सरकारी निकाय नै मन्दिरको नाममा अनियमितता गर्नमा लिप्त रहेकोसमेत उनको गुनासो छ । 

जनकपुरधामको ऐतिहासिक तेलहा मडहा पोखरीको सौन्दर्यीकरणको नाममा पोखरीको क्षेत्रफल नै नछुट्याएर काम भइरहेको महन्थ दासले बताए । सौन्दर्यीकरणको नाउँमा पोखरीलाई खाल्डोमा परिणत गरिएको उनको गुनासो छ ।

  • प्रकाशित मिति : जेठ ३१, २०७९ मंगलबार १६:४८:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया