निर्वाचन आयोगले बुधबार (असार १ गते)बाट पुनः मतदाता नामावली संंकलन तथा अद्यावधिक कार्य सुरु गर्ने भएको छ । आयोगले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी दिएको हो ।
‘सबै निर्वाचन कार्यालयहरू र सबै जिल्ला प्रशासन कार्यालय एवं ७३ वटा इलाका प्रशासन कार्यालयबाट यही असार १ गते देखि मतदाता नामावली संकलन गरिनेछ,’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने ।
पेसा, व्यवसाय वा अन्य कुनै कारणले कुनै एक जिल्लामा बसोवास गरिरहेको नागरिकले निजको स्थायी ठेगानामा रहने गरी हाल अस्थायी बसोबास गरिरहेको जिल्लाकै निर्वाचन कार्यालय गई मतदाता नामावली दर्ता गर्न सक्ने उनले बताए ।
मतदाता नामावलीमा रहेको आफ्नो नाम, ठेगाना, जन्म मितिलगायत विवरण सच्याउनलाई प्रमाणसहित निवेदन दिएमा नाम दर्ता अधिकारी (निर्वाचन अधिकारी)ले आवश्यक निर्णय गरी त्रुटि सच्याउने समेत उनले जनाए ।
प्रवक्ता पौडेलेका अनुसार कुनै मतदाताले विवाह वा बसाइँ सरेको कारण मतदाता नामावलीमा रहेको आफ्नो ठेगाना परिवर्तन गर्न चाहेमा साविकमा नाम दर्ता भएको जिल्ला वा नाम सार्न चाहेको जिल्लाको निर्वाचन कार्यालयमा निवेदन दिन सक्नेछ ।
कुनै मतदाताले आफ्नो नाम रहेको मतदान स्थलवाट पायक पर्ने सोही वडाको अर्को मतदान स्थलमा नाम सार्न निवेदन दिएमा सोही बमोजिम स्थानान्तरण गरिदिने पनि उनले जानकारी दिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।